-नारायण गाउँले ।
हामी अमेरिकालाई रिस त गर्छौँ, तर अमेरिका कसरी अमेरिका भयो भन्ने सोचेर अलिकति प्रेरणा लिन भने सक्दैनौँ । हामी कहिल्यै गुलाम भएनौँ । न छिमेकी भारतजस्तै दुई हजार वर्षदेखि निरन्तर युद्ध, लूट र उपनिवेश सहनुपर्यो । न युरोपले जस्तै युद्ध र विध्वंशको मात्रै कथा लेख्न पर्यो । हाम्रो युद्ध मूलतः खुँडा, खुकुरी र भरूवा बन्दुकको थियो । अमेरिका झन्डै दुई सय वर्ष गुलाम रह्यो । बेलायती साम्राज्यवादसँग लड्यो ! साम्राज्यवादकै कारण दुई दुई वटा विश्वयुद्ध भए । दुबैमा अमेरिका संलग्न भए पनि उसले युद्धको सुरुवात गरेको थिएन, न उसको चाहना नै थियो ।
उसले जर्मन साम्राज्यवादबाट बेलायत र रसियालाई जोगायो । जापानिज साम्राज्यवादबाट चीनलाई बचायो । युरोपियन साम्राज्यवादबाट विश्वका धेरै देशलाई बचायो ! उसले एकपल्ट पनि गुन नलगाएको देश यो ग्लोबको डल्लोमा शायदै भेटिएला ! ऊ नभएको भए, जापानले चीनको नक्सा बदल्ने थियो, हिटलरले फ्रान्स, बेलायत र रसियाको नक्सा बदल्ने थियो । एशिया र अफ्रिकासम्म फैलिएको युरोपियन साम्राज्यवाद ढाल्न उसले लगाएको गुन धेरै देशले बिर्सेका छैनन् । इजिप्टले सूएज क्यानल राष्ट्रियकरण गर्दा बेलायत र फ्रान्सले लड़ाकू जहाज पठाएर देश नै कब्जा गर्न लागेका थिए । अमेरिका नै थियो जसले इजिप्टलाई जोगाएको थियो । आज पनि मध्यपूर्व र अरबले अमेरिकालाई सुरक्षाकवच मान्छ ।
एक सय सत्तरी बढ़ी देशलाई त हिजोसम्म निरन्तर आर्थिक सहयोग दिँदै आएको रहेछ ! विश्वभर हजारौँ सड़क, पुलपुलेसा, विद्युत् गृह र प्रसारण लाइन बनाएको छ, विश्वभरका लाखौँ प्रतिभावान् छात्रछात्रालाई खानेबस्ने समेत सुविधा दिएर निःशुल्क शिक्षा दिएको छ । चीन होस् या कोरिया अमेरिकी बजार, प्रविधि र पूँजीको उपयोग गरेर विश्वका धेरै देश सम्पन्न र धनी भएका छन् । युद्धपछिको युरोप यसरी ठडिएको अमेरिकी हात समातेरै हो ।
हो, भियतनामदेखि इराकसम्म, अफगानिस्तानदेखि सिरियासम्म विश्वको हरेक कुनामा उसले बम र बारूद पनि बर्साएको छ, रगतको खोलो बगाएको छ, कति देशमा सरकारहरू उखेलेर कठपुतलीहरू ठड्याएको छ । टोले गुण्डाजस्तो हरेक देशलाई थर्काउँछ । तर, हरेक शक्तिशाली देशले यही त गर्दै आएका छन् ।
आजको नक्सामा अमेरिका नहुने हो भने हाम्रो अफिसको कम्प्युटर चल्दैन, ब्याङ्कको नेटवर्क चल्दैन, हस्पिटलको अपरेशन चल्दैन, हातको मोबाइलले काम गर्दैन । सड़कदेखि आकाशसम्म, मोटरदेखि स्याटेलाइटसम्म, औषधिदेखि कम्प्युटरसम्म उसले गरेका लगानी, खोज र मिहिनेतको फल आज सिङ्गो विश्वले लिइरहेको छ । उसले जीपीएस बन्द गर्ने हो भने नेपालजस्तो सानो देशको पठाओ सेवा बन्द हुन्छ । एन्ड्रोइड र एप्स स्टोर बन्द हुने हो भने टिकटकको लाखौं व्यवसाय बन्द हुन्छन् । आज तपाईंसँग आइडिया छ भने पूँजीको अभावमा खुम्चिनु पर्दैन, त्यस्तो खुला बजार बनाएको छ उसले । आज अमेरिकी लगानीले त्यही क्षतविक्षत भियतनाम एशियाको नयाँ शक्ति बनेर उदाउँदै छ । विश्वभर कल्याणकारी काम गर्ने युएनको २५% भन्दा बढ़ी बजेट अमेरिका एक्लैले बेहोर्छ । युएनडीपी, युनिसेफ हुँदै शान्तिसेनासम्मबाट अलिअलि रस नेपालसम्म पनि आउँछ ।
हिजोसम्म उसले जापान र युरोपको सुरक्षाको जिम्मा लिँदा सधैँ लडिरहने देशहरूले सेना र हतियारमा जाने खर्च कटौती गरे र उत्पादनमा लगाए । अनुसन्धान, स्वास्थ्य र पूर्वाधारमा लगाए । समृद्ध भए । केही अंश अनुदान र ऋण सहयोगका रूपमा विश्वका गरिबतम देशसम्म बाँड्न पाए । हामीले वीपी राजमार्ग पायौं । भर्खर नागढुङ्गाको सुरुङ् पाउँदै छौं । महेन्द्र राजमार्ग पनि पाएको हो । आज अनुसन्धानमा जाने पैसा हतियार र सुरक्षामा गयो भने बेफाइदा हामीलाई पनि हुन्छ ।
एउटा कार्यकारी न हो, हाम्रो केपी ओलीजस्तै । तर डोनाल्ड ट्रम्पले शपथ लिएको दुई महिना भएको छैन, विश्वभर आँधीहुरी चलेको छ । हरेक दिन नयाँ समाचार छ, नयाँ भूकम्प छ । चीनको बजार हल्लिएको छ, क्यानडाको मुटु थर्किएको छ । सिङ्गो युरोप थरथर छ । विश्वभरको शेयर बजार र मुद्रा बजारले आँखा तानेर ह्वाइटहाउसलाई हेरिरहेको छ । भोलि उठ्दा के उपद्रव हुने हो भन्ने डरले विश्वका धेरै राष्ट्रपति निदाएका छैनन् । हामीले सय प्रतिशत कर लगाएका छौं । उसले त्यस्तो गर्ने हो भने विश्वका धेरै देशको अर्थतन्त्र बिरामी हुन्छ ।
कति देशलाई आफ्नो सेनालाई तलब खुवाउन मुश्किल छ । उसले विश्वभर सेना पालेको छ । हाम्रो राष्ट्रिय बजेट जत्रो त उसको एउटा फुच्चे कम्पनीको बजारमूल्य छ । पचास देशको राजश्व जोड्दा पनि नभेट्ने जत्रो एउटै कम्पनी छ । ट्रिलियन डलर भ्यालुएशनका कम्पनी छन् । विश्वका हरेक मान्छेको गोजी र अफिसमा पुगेको छ । गैरकानुनी रूपमा आफ्नो देशमा बस्ने विदेशीलाई कसले पो स्वागत गर्ला र, तर कानुनी हैसियतमा हुनेहरू उपराष्ट्रपति बनेका छन्, एफबीआई प्रमुख बनेका छन् । अरू छोडम्, आज साम्यवादको पुस्तक लेख्ने मान्छे पनि अमेरिकामा ग्रीनकार्ड पाए खुशी हुन्छ । आज साउदी अरबदेखि रसियासम्मका तेल उत्पादकले मूल्य बढाउन खोज्दा रोक्न सक्ने ऊ मात्रै छ । कुनै देशको सुरक्षा ग्यारेन्टी ऊबाहेक अरूले गर्न सक्छन् जस्तो कसैलाई लाग्दैन ।
विश्वको सबैभन्दा ठूलो तेल उत्पादक त्यही हो । गहुँदेखि धान र मकै उसैले फलाउँछ । फाइटर जेटदेखि मान्छे बोक्ने जहाजसम्म उसैको एकछत्र राज छ । विश्वका उत्कृष्ट विश्वविद्यालय पनि त्यहीँ छन् । यस्तो पैसा, ताकत, प्रविधि र समृद्धि बसी बसी आएको त पक्कै होइन होला । कसैले दान दिएर बनेको देश पनि होइन । बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम, जापान र रसियाको जस्तो साम्राज्य पनि उसको थिएन । बरु ऊ उल्टै साम्राज्यवादबाट पीडि़त हो । गुलाम हो ।
कति ठूलो भिजन र मिहिनेत लाग्यो होला । शिक्षादेखि नीतिनिर्माणसम्म कति धेरै लगानी लाग्यो होला । दुई हजार वर्षदेखिको समृद्धि पनि होइन, इतिहास पनि होइन । विश्वभर व्यापार र उत्पादन बेच्न पक्कै सजिलो थिएन । लुटेको भन्न सजिलो छ तर आज पनि विश्वको जुनकुनै शहरमा जानुस्, म्याकडोनाल्ड भेटिन्छ । त्यहाँ सबैभन्दा सस्तोमा भोक मेटिन्छ । नाइकको एउटा जुत्ता फाट्ने बेलासम्म अर्को तीन जोर जुत्ता फाटिसक्छ । आमप्रयोगकर्ताका लागि फेसबुक फ्री छ, ट्विटर फ्री छ, गुगलम्याप फ्री छ । जीपीएस फ्री छ । एआई फ्री छ । व्यापार गर्नु र लुट्नु पक्कै एउटै होइन । आज पनि विश्वका धनी देशभन्दा अमेरिकी भन्सार दर ज्यादै न्यून छ । नेपाल अति विपन्न हुँदासम्म शून्य भन्सार दरको सुविधा दिएको थियो । नेता बेच्न मिलेन, अरू बेच्ने कुरो भएन र मात्रै हो । गार्मेन्ट उद्योग फस्टाएको त्यही बेला हो ।
यो अमेरिका पुराण होइन । उसका समर्थक पनि छन्, कट्टर आलोचक पनि छन् । अमेरिका सही या खराब के छ भन्ने दोस्रो प्रश्न हो ! यो राजनैतिक आग्रहदेखि परिस्थितिजन्य विषयमा निर्भर हुन्छ । तर अमेरिका जस्तो बन्ने चाहना त सबैमा हुन्छ । डोनाल्ड ट्रम्पले देश बलियो बनाएको होइन । देश बलियो थियो र उनी बलियो भएका हुन् । आफूले थर्काउने, अपमान गर्ने अनि उल्टै जेलेन्स्कीलाई माफी मगाउन सक्ने हैसियत उनलाई देशको सम्पन्नताले दिएको हो । पात्र त फेरिइरहन्छन् ।
अमेरिकालाई गाली गर्न सजिलो छ तर देशलाई सम्पन्न बनाउन मुश्किल छ । तर मुश्किल काम किन गर्नु । आउनुहोस्, अमेरिकालाई गाली गरौँ र यो अध्याय समाप्त गरौँ ।