काठमाडौं । आयोजक केपी ओली फूटबल क्लब तेस्रो संस्करणको केपी ओली कपबाट बाहिरिएको छ । शनिबार बेलुकी सम्पन्न दोस्रो सेमिफाइनल खेलमा केपी ओली क्लबलाई ४-० गोलले हराउँदै मछिन्द्र लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन स्टेफेन जालीले दुई तथा मनिष डाँगी र रोशन रानाले समान एक/एक गोल गरे । एकपक्षीय खेलको ३९ औँ मिनेटमा मनिषले गोल गर्दै मछिन्द्रलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५० औँ मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । ८५ औँ मिनेटमा जालीले पेनाल्टीमा गोल गर्दै मछिन्द्रलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा जालीले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-० गोलको जित दिलाउँदै फाइनलमा डोर्याएका हुन् ।
अब मछिन्द्रले उपाधिको लागि सोमबार विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।