आज जेलेन्स्कीले भोगेको यति ठूलो अपमान, हप्की र पीडा भोलि धेरैको अनुहारमा झल्किन सक्छ

-नारायण गाउँले ।

जेलेन्स्कीले सके जति गरे । सक्नेभन्दा अलि बढ़ी नै गरे । तीन दिनमा सकिने अनुमान गरिएको विदेशी आक्रमणलाई विश्वभर रोई कराई तीन वर्ष लम्ब्याए । भारतविरुद्ध सुरुङ्ग युद्ध लड्ने भन्दै सेन्टिमेन्ट उराल्ने हामीले युक्रेन र जेलेन्स्कीलाई अर्तिउपदेश दिनु बेकार छ । जेलेन्स्की सन् २०१९ मा राष्ट्रपति बनेका हुन् । रसियाले त्यसभन्दा पाँच वर्षअघि नै सन् २०१४ मै क्रिमिया कब्जा गरेको थियो । डोनबासमा सेना पठाएर पूर्वी क्षेत्र कब्जा गरेको थियो । जेलेन्स्की निर्वाचित भएपछिको युद्ध होइन यो । बरु उनले रसियासित युद्धविराम गरेका थिए । आफ्नो भूभाग कब्जा गरेर बसेको छिमेकीसँग मेलमिलाप गर्ने भन्ने सुझाव दिन मात्रै सजिलो हो । उनी निर्वाचित हुँदै गर्दा देशभर राष्ट्रिय अखण्डता र सुरक्षाका लागि मान्छे चिन्तित थिए । रसिया युक्रेनी जमीन कब्जा गरेर बसेको थियो र थप भूभागमाथि आक्रमण गर्ने ठूलो भय थियो । युक्रेन देश नै होइन भन्ने शक्तिशाली छिमेकीले जतिसुकै बेला निल्न सक्ने त्रास थियो ।

यस्तोमा जेलेन्स्की राष्ट्रपति बनेका थिए । उनले देशको रक्षा जसरी हुनसक्छ जस्तो लाग्यो, त्यस्तै गरे । “तपाईंले क्रिमिया लिनुभयो, ठीक गर्नुभयो । पूर्वी युक्रेनको औद्योगिक करिडोर रहेको डोनबास क्षेत्र पनि चाहेजस्तै लैजानुहोस्“ भनेर रसियासँग आत्मसमर्पण गर्ने जन–म्यान्डेट उनलाई थिएन । एक्लै रसियासित लड्ने शक्ति युक्रेनसँग थिएन । गुम्न बाँकी भाग जोगाउनका लागि पनि कसैको शरण पर्नुपर्ने बाध्यता उसलाई थियो । नेटोको सदस्यतालाई युक्रेनले एकमात्र सुरक्षाकवच देखेको थियो । उनी राष्ट्रपति बन्दा त संविधानमैं नेटोमा जाने प्रस्तावना थियो । अरूले जस्तै उनले पनि कोसिस गरे । तर बीस वर्षदेखि जे बहानामा सदस्यता दिइएको थिएन, त्यही बहाना अहिले पनि थियो ।

रसियाको माग अनुसार निःशस्त्र बन्ने, सेना विघटन गर्ने र तटस्थ बस्ने उपाय थियो । सेना र शस्त्र हुँदा त रसियाले भूभाग कब्जा गरेको थियो, निःशस्त्र हुँदा राष्ट्रिय सुरक्षाको हाल के हुन्थ्यो होला । एउटा राष्ट्रपतिलाई देशलाई नै निःशस्त्र गर्ने डेन्जरस अधिकार हुने कुरो पनि भएन । हिजो सुरक्षाको जिम्मा लिएका अमेरिका र रसियाले आज केकस्तो व्यवहार देखाएका छन्, हेर्नुभएकै छ । फेरि रसियाको माग नेटोसँग जोडिएको थियो । नेटोको सदस्यता लिइसकेका पूर्वी देशले सदस्यता त्याग्नुपर्ने माग मुख्य थियो । जुन आफैंले कोसिस गर्दा पनि सदस्य बन्न नसकेको युक्रेनले पूरा गर्न सक्दैनथ्यो ।

जेलेन्स्कीले गर्नपर्ने के थियो त ? रसियासँग के गर्नुपथ्र्यो ? कि बुझाउने कि डिफेन्ड गर्ने, यत्ति होइन र ? उनले हतियार बोकेर लड्न गएको, क्रिमिया फर्काउने भन्दै युद्ध घोषणा गरेको त होइन । अमेरिका र पश्चिमी देशले सहयोग गर्छौं भनेर वचन दिएका थिए । अमेरिका त सम्झौताले नै बाँधिएको थियो ।

सहयोग पाउँदासम्म देशका लागि लड्ने नै त होला । नत्र सेना केका लागि ? देश बचाउन सकिन्छ कि भन्दै सहयोग माग्नु गलत नहोला । क्यान्सर नै लागे पनि हामी उपचार त गर्छौं नै । निको हुने नहुने त हाम्रो हातमा मात्रै हुँदैन । तीन वर्ष टिक्छ भन्ने पत्याएको भए दिनेले पनि समयमै राम्रो हातहतियार दिने थिए । पत्याउने बनाउन तीनचार महिना लाग्यो । उनी पहिलो दिन नै या त भाग्छन् या मारिन्छन् भन्ने थियो । भागेको भए युक्रेन रहन्नथ्यो भन्ने त सबैलाई लागेकै छ । देशको लागि लग्जरियस लाइफ छोडेर, ज्यानको बाजी राखेर उनी लडे । एउटा राष्ट्रपतिले गर्ने त्यही होइन र ? टाउको माथि बम खस्दै गर्दा उनले भिडियोमैँ आएर युद्धको प्रतिरोध गर्दै थिए ।

एउटा शक्तिशाली छिमेकी उद्योग र मलिलो माटो भएको पूर्वी भाग कब्जा गर्न चाहन्छ । सके पूरै देश निल्न चाहन्छ । नसकिए पनि समुद्री किनार जति कब्जा गर्ने त घोषणा नै गरेको छ । अर्को शक्तिशाली देश खनिज र मिनरल कब्जा गर्न चाहन्छ । पुस्तौं पुस्तालाई चुस्न चाहन्छ । हामी युद्ध र यो हालको दोष निर्धो जेलेन्स्कीलाई दिइरहेका छौं । उनी महान् नेता होइनन् । तर गद्दार पनि होइनन् । भगौडा पनि होइनन् । र सबैभन्दा ठूलो कुरा, युद्ध उनले सुरु गरेका पनि होइनन् ।

उनको कारुणिक अनुहार पढ्नुभयो भने, आम युक्रेनी नागरिकलाई सोध्नुभयो भने एउटा मात्रै चिन्ता देख्न सकिन्छ । त्यो हो राष्ट्रिय सुरक्षा । देश बच्छ भने अरू जे पनि सहन तैयार देखिन्छन् ती । भोलि फेरि आक्रमण नहुने र देश बच्ने ग्यारेन्टी भए युक्रेनलाई पुग्छ । त्यही हारगुहार गर्दैछ । जे जति मिनरल छ, लैजाऊ तर सुरक्षाको ग्यारेन्टी देऊ । उसले भनेको यत्ति हो । ट्रम्पले अमेरिकाको अपमान गर्यो भनेको यसैलाई हो । देश बच्ने ग्यारेन्टी नै नभए मिनरल किन दिन पर्यो र ?

जेलेन्स्कीले यो खेल नजित्न पनि सक्छन् । अब त उनको जीवन थप सङ्कटमा देखिन्छ । उनी ढिलोचाँडो मारिन सक्छन् । पुटिनले रसियाको एउटा कुनाबाट अमेरिकाले खोजेको कुरा दिए भने शायद युक्रेन नरहन पनि सक्छ । विश्वको ५०% भन्दाबढी भण्डार रसियासँगै छ । क्यानडा या ग्रीनल्याण्डमाथि अमेरिकी सेना उत्रियो भने रसियाले नबोलिदिए पनि पुग्छ । तर यदि मिराकल भयो र युक्रेन बच्यो भने त्यसको सबैभन्दा ठूलो श्रेय जेलेन्स्कीलाई नै जान्छ ।

युक्रेनको भविष्य अनिश्चित छ । एकछिन पर्खिनुस् । जुन दिशातिर विश्व जाँदैछ, त्यसले युक्रेनमात्रै होइन, विश्वका सबैजसो कमजोर र साना देशको भविष्य अनिश्चित देखिँदै छ । आज जेलेन्स्कीले भोगेको यति ठूलो अपमान, हप्की र पीडा भोलि धेरैको अनुहारमा झल्किन सक्छ । आत्मनिर्भर भन्ने मायावी शब्द हो । आणविक भारतसँग भुटान कसरी आत्मनिर्भर बन्न सक्छ ? यस्तो साँढे जस्तो देखिएको विश्वशक्ति अमेरिकासँग क्यानडा कसरी आत्मनिर्भर बन्न सक्छ ? विश्वको ठूलो आणविक शक्ति रसियासँग मोल्दोवा या कजाकस्तान कसरी आत्मनिर्भर बन्ने ? काल पल्कियो भने हामी पनि अजर अमर छैनौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *