फाइनलमा सधैँको अभागी नेपाल

काठमाडौं । १३  औँ फाइनल, १३ औँ हार र सुन्य ट्रफी । सुन्दा एकछिन अचम्म लाग्न सक्छ तर यो नेपाली फूटबल प्रेमीको लागि एउटा तीतो यर्थार्थ हो ।

हुन त अब नेपाली महिला फूटबल टोलीलाई फाइनलको अभागी टोली भन्दा पक्कै फरक पर्ने छैन । कारण १३ औँ पटक फाइनल पुग्दापनि उपाधि उचाल्न नसक्नु ।

यसअघि १२ औँ पटक फाइनलमा पराजित हुँदै उपाधिबाट वन्चित बनेको नेपाली महिला टोलीले बुधबार बेलुकी घरेलु मैदानमा १३ औँ फाइनल खेल्यो । तर इतिहास फेरिएन, नतिजा पुरानै दोहोरोयो । रंगशालामा टोलीको हौसला बढाउन पुगेका १६ हजार समर्थकसँगै देश विदेशबाट खेल निहालिरहेका लाखौँ फूटबल प्रेमी सबैको मन टुट्यो ।

पहिलो हाफसम्म विपक्षी टोलीलाई दबाबमा राखेको नेपाल दोस्रो हाफमा लार्बरायो । तीन मिनेटको अन्तरालमा दुई गोल खान पुग्दा नेपालको सपना तुहियो । हुन त म्यानमार फिफा वरीयतामापनि नेपाल भन्दा झन्डै ५० स्थान माथि छ । लिग चरणको अन्तिम खेलमा २-२ गोलको बराबरीमा रोकेको नेपाली टोलीप्रति फाइनलमा नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता प्रति समर्थकको विश्वास थियो ।

तस्बिर :- एन्फा

तर विश्वास नतिजामा परिणत हुन नसक्दा नेपालको उपाधि उचाल्ने सपना सपनामै समाप्त भयो । नेपालको यो घरेलु मैदानमा लगातार तेस्रो हार हो । यसअघि नेपाल सन् २०२२ र २०२४ को साफ च्याम्पियनसिपको फाइनलमा क्रमशः ३-१ र २-१ गोलले पराजित भएको थियो ।

समाग्रमा हेर्ने हो भने नेपाली टोलीको लागि यस प्रतियोगिता सन्तोषजनक रह्यो । उपाधि नजितेपनि नेपाली टोलीले सम्भावना भने देखाएको छ । नेपाली खेलाडीले आफ्नो क्षमता देखाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी रेनुका नगरकोटेले मिडफिल्डमा कब्जा जमाइन् । उचाईले कम भएपनि प्रिती राईले जादुमयी खेलले शिखर चुमिन् । सावित्राको त तारिफ गर्ने शब्दनै छैन ।

नेपालले यस प्रतियोगितामा गुमाएको भनेको उपाधि मात्र त हो । बाँकी सबै जितेको छ । एउटा ट्रफीले टोलीको स्तरलाई देखाउनेपनि त हैन । ट्रफी गुमाएर नेपाली समर्थक निराश त बनेका छन् तर टोलीले सम्भावनाको ढोका भने ढकढकाएको छ । यस प्रकारको प्रतियोगिताले भविष्यमा नेपाललाई मद्दत त पक्कै गर्नेछ ।

तस्बिर : एन्फा

प्रतियोगिता अवधिभर समर्थकको उत्साजनक उपस्थितिले फूटबलको क्रेजलाई फेरी उदाङ्गो पारेको छ । कहिँ न कहिँ पुरुष फूटबल प्रति समर्थकको मन चिसिएको बेलामा महिला फूटबलले न्यानोपन दिएको छ । अब त पुरुष फूटबलको क्रेजलाई महिला फूटबलले बिस्तारै उछिन्न थालेको पो हो कि ?  यसको उत्तर त भविष्यमा पक्कै पाइएला ।

अब उपाधिको भोकले निराश भएर बस्ने छुट संघ, खेलाडी र समर्थक  कसैलाईपनि छैन । अब विश्वकपको ढोका ढकढकाउने पालो आएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)पनि मिसन विश्वकपमा रहेको छ । खेलाडीमा जोस छ, सम्भावना छ र अब यो सम्भावनालाई विश्वलाई देखाउनु जरुरी छ । पछिल्लो समय महिला फूटबललाई हेर्ने हो भने एन्फालाई दोष दिने ठाउँ छैन । एन्फाले दुई चरणमा घरेलु लिग गराएको छ । वरीयतामा आफुभन्दा माथि रहेका टोलीसँग मैत्रीपूर्ण खेलहरु सञ्चालन गरेको छ । विश्व फूटबलमा अगाडि बढ्न एन्फाले यहि लयलाई थप विस्तृतरुपमा अगाडि बढाउनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *