तपाईंका पिएचडीहरुको बेइजत नगर्नुस्

सीमा आभास ।

हामी केही लेखकहरूको नाम, फोटो राखेर एउटा ब्यानर भाइरल भइरहेको छ । त्यो ब्यानर भाइरल गराउने मध्य अधिकांशले गाली, गलौज गरेर कमेन्ट गरेका छन् । नडराउ भनेर ढाडस दिने, स्टाटस, फोन, म्यासेन्जरमार्फत चिन्ता व्यक्त गर्ने शुभचिन्तक, साथी, लेखक, आफन्त र साहित्यको माया गर्ने तपाईंहरू सबैप्रति आभारी छु । तपाईंहरूको सदासयताले आँखाभरि टिलपिल छु । स्वत्वको लागि लडाइँ गर्ने छ मेरो कलमले । समाजका कुरीति, अपराध, अन्धविश्वास, अराजकता, विभेद, अन्यायको बिरूद्ध कलम चलाउन डराउने छैन । स्वतन्त्रता, समानता, समता, समुन्नति, सद्भाव, जस्ता बिषयको पक्षमा सचेत भएर उभिने नै छु । विनम्रपूर्वक गालीवाजहरूलाई अनुरोध गर्दछु पहिला हाम्रा कृतिहरू पढ्नुस् । हामीले गलत केके गरेका छौँ तिनका प्रमाण सार्वजनिक गर्नुस् ! चिन्दै नचिनी, जान्दै नजानी गाली गलौज गर्नु मान्छेको व्यावहारभित्र पर्दैन । अलिकति मान्छे बनी हेर्नुस् । पढालेखा हुनुहुन्छ भने अलिकति पढालेखाको चरित्र देखाउनुस् । साहित्य साधक ठान्नुहुन्छ भनेँ पहिला आफूले लेखेका शब्द आफैँलाई प्रयोग गरि हेर्नुस् । चरित्र निर्माण गर्नुस् ।

हाम्रो बारेमा कृष्ण धरावासीले फेसबुक लाइभमा धेरै कुरा स्पष्ट पारिसक्नु भएको छ । तपाइहरुले त्यो भिडियो हेर्न सक्नुहुन्छ । हामीलाई गाली गर्नुअघि आफैसँग प्रश्न गर्नुस् तपाईंहरू मध्य कसकसले हाम्रा कृति पढ्नु भो र यसरी गालीमा उत्रनुहुन्छ ।
यो कानुनी राज्य हो । कानुनविपरित कुनै पनि क्रियाकलाप हामीबाट भएको छ भने प्रमाणसहित आउनुस् । नत्र खुल्लम् खुल्ला हामीलाई मानमर्दन गरेको मूल्य कसरी चुकाउनुहुन्छ ? हामीलाई बिनाप्रमाणका गालीगलौज गर्ने तपाईं स्वयं कस्तो हो ? आफैँलाई प्रश्न गर्नुस् ।

एउटा जिम्मेवार लेखकले आफूले लेखेका सिर्जनासँग प्राण गाँसेको हुन्छ । लेखकको कृति उसको जीवनको महत्वपूर्ण हिस्सा हो । अक्षरअक्षरसँग जवाफदेही र उत्तरदायि भएको हुन्छ । लेखकले कृति लुकाएर राखेको हुँदैन । सकेसम्म बढी मान्छेले पढुन् । बढीले जानुन् भन्ने ठानेको हुन्छ ।

लेखकले गलत लेख्यो भनेँ चिरकालसम्म त्यसको असरपर्छ भनेर जानेको हुन्छ । कतिकति हरफहरु त मुटुले लेखेको हुन्छ । देश, समाज, धर्म, कला, संस्कृति, आचरण लेखेको हुन्छ । यसभित्रका विकृतिलाई प्रहार गरेको हुन्छ । नविन दृष्टिकोण दिएको हुन्छ । एउटा स्वाभिमानी लेखकलाई कसैका स्वार्थको गान वा भक्ति र भजन लेख्न उसका अहमले दिँदैन । कसैले निर्दिष्ट गरेको सिद्धान्त वा कसैको इच्छामुताविक चल्न नसक्ने भएरै लेखक निर्भिक बन्ने हो ।
यो देशको भाषा, धर्म, संस्कृति, परम्पराको चिन्ता सबैलाई भएजस्तै लेखकलाई पनि हुन्छ । स्वाभिमानी अक्षरमा बाँचेको लेखकमाथि लाञ्छना लगाउनु अघि जसजसलाई आरोप लगाउनु भयो । जसजसले तिघ्रा ठटाउनु भयो एकपटक हाम्रा कृतिहरु पढ्नुस् । जे पायो त्यही बोल्दै नहिँड्नुस् । यो समाजमा तपाइका सन्तानले तपाइका कुरा सिक्नेछन् । उनीहरुलाई असल कुरा सिकाउन असल कुरा बोल्नुस् । तपाईंका पिएचडीहरुको बेइजत नगर्नुस् । स्टाटस पनि सम्पत्ति हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *