काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरे । उनले भने, ‘अहिले कुलमानलाई बिहानै हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ। उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे? बरु सम्मान गर्नुपर्छ।’
उनले विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? भन्दै प्रश्न गरे । महसुल नतिर्नेको लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको भन्दै आपत्ति जनाए ।
उनले प्रश्न गरे, ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ उनले दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङलाई ऊर्जा मन्त्रीको आलोचना गरेको कारण जिम्मेवारीबाट हटाएको भनेर पत्र सार्वजनिक भएकोप्रति आपत्ति जनाए ।