नेपाल र म्यानमारबीचको पहिलो हाफ रोमाञ्चक बराबरी

काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीच जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी समूहचरणको अन्तिम खेलको पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको हो ।

पहिलो हाफमा नेपालको लागि सावित्रा भण्डारी र सविता राना मगरले समान एक/एक गोल गरिन् । म्यानमारको लागि मे ह्टेट लु र म्याट नोए खिनले समान एक/एक गोल गरिन् । खेलको छैटौं मिनेटमा खिनले गोल गर्दै म्यानमारलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । उनको फ्रि-किकलाई नेपालकी गोलकिपर अन्जना राना मगरले जज गर्न नसक्दा सिधैं गोल भएको हो ।

११ औं मिनेटमा सावित्राको पासमा सविताले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । पाँच मिनेटपछि नेपालकी डिफेन्डर गीता राना मगरको गल्तीको फाइदा उठाउँदै ह्टेट लुले गोल गरेर म्यानमारलाई फेरी २-१ गोलको अग्रता दिलाएकी थिइन् । यस्तै ४१ औं मिनेटमा प्रितीको पासमा सावित्राले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *