एसपिए कैलाली प्रिमियर लिगमा भिमदत्त नगरपालिकाको टोली विजयी

 

कैलाली । धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा भिमदत्त नगरपालिकाले परशुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको छ ।

भिमदत्तले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा परशुरामले पूरा ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो । परशुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए ।

दिलबहादुर बोहराले ३४ रन बनाए । ओपनर ब्याटर अर्जुन विकले १६ रन बनाए । भिमदत्तका लागि सन्तोष भट्टले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका सन्तोषले एक मेडन राख्दै ११ रन खर्चेर चार विकेट लिए । भट्ट ‘म्यान अफ दी म्याच’ भए । समिर बिस्ट र अरुण ऐरीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए । यस्तै, अन्तिममा ब्याटिङ गर्न आएका किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७, अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन बनाए ।

भिमदत्तका प्रकाश पाण्डेय, साजन बिटालु र समिर बिष्ट रनआउट भए । परशुरामका लागि अर्जुन विकले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अर्जुनले एक मेडन राख्दै २१ रन खर्चेर तीन विकेट चट्काए । त्यस्तै टेक थलालले दुई तथा कृष्ण बिष्टले एक विकेट लिए ।

समूह ‘ए’ बाट गोदावरी नगरपालिकाको टोली र समूह ‘बी’ बाट पुनर्वास नगरपालिका ‘बी’ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

प्रतियोगिताका विजेता टोलीले नगद  रु दुई  लाख, उपविजेताले नगद रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार, बेष्ट बलर र ब्याटरले जनही  १५/१५ हजार, उदीयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु दुई हजार ५०० प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *