- डा.सूर्यराज आचार्य ।
सिंगापुरमा रहेको वेलायती सेनाको क्याम्प केवल सुरक्षाका लागि मात्र नभई सिंगापुरको अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण थियो । तर वेलायती सरकारले खर्च कटौतीका लागि सिंगापुरबाट आफ्नो सैनिक क्याम्प हटाउने योजना बनाएको थियो । यो निर्णय भर्खरै मलेसियाबाट अलग भएको गरिब राष्ट्र सिंगापुरका लागि निकै चुनौतीपूर्ण थियो ।
वेलायतका सत्ताधारी र विपक्षी दुबैथरीका नेताहरूसँग ली कुआन युको राम्रो सम्बन्ध थियो । उनले वेलायती प्रधानमन्त्रीसहित अन्य नेताहरूसँग सैनिक क्याम्प हटाउन केही वर्षको समय थप माग गरेका थिए । वेलायती सरकारले भने सैनिक क्याम्प चाँडै हटाउने तर यसको प्रतिकूल आर्थिक प्रभाव कम गर्न सिंगापुरलाई सहयोगस्वरूप अनुदान दिने आश्वासन दिएको थियो । यसप्रति सिंगापुरका तत्कालीन प्रधानमन्त्री ली कुआन युको धारणा यस्तो थियोः ‘ली कुआन युको पुस्तक,From Third World to First: The Singapore Story, 1965–2000 बाट उदृत (अनुवाद)
‘वेलायती रक्षामन्त्री डेनिस हिलीले १९६७ मा वेलायती सैनिक क्याम्प हटाउँदा सिंगापुरलाई पार्न सक्ने प्रतिकूल आर्थिक प्रभावलाई न्यूनीकरण गर्न ‘उल्लेख्य अनुदान’ दिने वाचा गरेका थिए । तर म यो कुरामा दृढ थिएँ कि हाम्रा जनताले कहिल्यै अनुदानमा निर्भर मानसिकता राख्नु हुँदैन । यदि हामी सफल हुन चाहन्छौं भने, हामीले आफैंमा निर्भर हुनैपर्छ।’
‘वेलायती अनुदानका विषयमा छलफल सुरु हुनुअघि नै, मैले १९६७ सेप्टेम्बर ९ मा संसदमा भनेको थिएँ, ‘सिंगापुरमा वेलायती क्याम्पहरू निर्माण र सञ्चालनमा आउनु पहिल्यै पनि यहाँ गतिशील अर्थतन्त्र थियो । यदि हामी बुद्धिमत्तापूर्वक र आत्मविश्वासका साथ अघि बढ्यौं भने, वेलायती सैनिक क्याम्पहरू हटेपछि पनि सिंगापुरको अर्ततन्त्र झन् ठूलो र आत्मनिर्भर बन्नेछ।’
‘मेरो दृष्टिकोण यो थियो कि वेलायतले सिंगापुरलाई उद्योगमार्फत रोजगारी सिर्जना गर्न सहयोग गर्नुपर्छ, तर हामीलाई निरन्तर वैदेशिक अनुदानमा निर्भर बनाउनु हुँदैन। मैले सिंगापुरका जनतालाई स्पष्ट रूपमा भनेको थिएँ, ‘संसारले हाम्रो जीविकोपार्जनका लागि हामीलाई केही दिनुपर्ने कुनै बाध्यता छैन। हामी भिख मागेर बाँच्न सक्दैनौं।’