दक्षिण अफ्रिकाले युद्ध अन्त्य गर्नेबारे छलफलका लागि जेलेन्स्कीलाई ‘चाँडै’ निमन्त्रणा गर्ने

 

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई रुसको सन् २०२२ को आक्रमणबाट उत्पन्न द्वन्द्व अन्त्य गर्न ‘समावेशी शान्ति प्रक्रिया’ बारे छलफल गर्न चाँडै आमन्त्रित गर्ने बताएका छन् ।

युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई आमन्त्रित नगरिएको वार्ताको माध्यमबाट युद्धको अन्त्यका लागि वार्ता गर्न रुस र संयुक्त राज्य अमेरिकाले चालेका कदमहरूको कडा आलोचनाका बीच यो प्रस्ताव आएको हो ।

“म राष्ट्रपति जेलेन्स्कीसँग भएको रचनात्मक संवादलाई स्वागत गर्दछु र म उहाँलाई चाँडै राजकीय भ्रमणका लागि दक्षिण अफ्रिकामा आतिथ्य गर्न उत्सुक छु”, रामाफोसाले एक्समा भने ।

दुई नेताले ‘सबै पक्षहरू समावेश गर्ने समावेशी शान्ति प्रक्रियाको तत्काल आवश्यकता’ मा सहमति जनाएको उनले बताए । “दक्षिण अफ्रिका रुस र युक्रेन बीचको संवाद प्रक्रियालाई समर्थन गर्न प्रतिबद्ध छ”, उनले भने ।

यसैबीच जेलेन्स्कीले ‘युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता’ लाई समर्थन गरेकोमा रामाफोसालाई धन्यवाद दिए र यस वर्ष शान्तिको आशा व्यक्त गरे  ।

“हाम्रा देशहरूले समान स्थिति साझा गर्छन् भन्ने महत्त्वपूर्ण छ : युक्रेन बिना युक्रेनको बारेमा केही पनि होइन । हामी सबैले यस वर्ष न्यायपूर्ण र दीर्घकालीन शान्ति प्राप्त गर्ने आशा गर्दछौंँ । दक्षिण अफ्रिकाको आवाज महत्त्वपूर्ण छ र हामी यसको समर्थनमा भर पर्दछौँ”, उनले लेखेका छन् ।

दक्षिण अफ्रिकाले रुस र युक्रेनबीचको युद्धमा तटस्थता देखाउन खोजेको भए पनि मस्कोतिर झुकेको आरोप लगाइएको छ ।

रामफोसाले अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको प्रमुख उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा रुसलाई ‘मूल्यवान मित्र र सहयोगी’ भनेर वर्णन गरेका थिए ।

रामाफोसाले बिहीबार जोहानसबर्गमा समूह २० (जी–२०) का शीर्ष कूटनीतिज्ञहरूको बैठकको छेउमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रिटोरियालाई ‘अमेरिका विरोधी’ एजेन्डाको आरोप लगाएपछि दक्षिण अफ्रिकामा भएको दुई दिने बैठकमा भाग लिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *