मनहरी । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड प्रवेश गरेको छ ।
शुक्रबार झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा दुई गोल गरेका छन् भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेट एक गोल थप्दै समूहलाई अग्रता दिएका हुन् ।
एपिएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्कीले दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा ‘म्यान अफ द म्याच’ विदेशी खेलाडी आर्मण्ड घोषित हुँदै नगद १० हजार प्राप्त गरेका छन् ।
यो जितसँगै चर्च ब्वाइज गोल्ड कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । प्रतियोगितामा एपिएफले सङ्कटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । एपिएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो ।
गत संस्करणमा एपिएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल यही फागुन १२ गते हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।