मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताए ।
‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ’, महामन्त्री थापाले भने ।
प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको बताए ।
‘यसर्थ पार्टीका नेता तथा कार्यकर्ताले गुट उपगुट नबनाई जनताको सर्वोपरी हितकालागि क्रियाशील हुनुपर्छ’, महामन्त्री थापाले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहेको र केही दिनभित्र समझदारी हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।