काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार देशमा तानाशाह लाद्ने कोसिसमा रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् ।
उनले सरकारसँग दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच रहेको बताए । उनले भने, ‘प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’
उनले पार्टी सानो छ भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिनुपर्ने बताए । अध्यक्ष नेपालले काम र व्यवहारबाट पार्टीलाई सशक्त अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टीलाई सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर,अनि यो पार्टी पनि चल्छ र ? भनेर निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिएर काम, गतिविधिहरू र व्यवहारबाट चलेर देखाउनेछौं।’