मुक्कुमलुङमा केबलकार निर्माण नै राज्यको एकलौटी दायित्व हो ?

काठमाडौं । पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच माघ २३ मा ६ बुँदे सहमति भएको थियो । सहमतिमा पाथीभरा केबलकारको स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेशनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख थियो । त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्योपचार गरिने वार्ता सहजीकरण समितिका तर्फबाट सरस्वता सिंगक (सरु) र सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख थियो । सहमति अनुसार आन्दोलनका क्रममा थुनामा रहेका बन्दीहरूको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने र मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको थियो । पहिलेको सहमति अनुसार माघ २७ गते आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भयो, तर वार्ता विनानिष्कर्ष टुंगियो । वार्तामा सरकारी टोलीले पोल कता राख्ने तथा केबलकारको संरचना कसरी बनाउने भन्ने विषय उठाएपछि वार्ता निष्कर्षमा नपुगेको आन्दोलनरत पक्षले बताएको छ ।

आफूहरूको माग केबलकार खारेजी मात्रै रहेको नो केबलकार समूहले स्पष्ट पारेको छ । त्यसयता सरकार र आन्दोलनरत पक्षबीच वार्ता भएको छैन । यसैबीच केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि तनाव भएको छ । आन्दोलनरत समूह र प्रहरीबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो । प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा परी नेपाल र सशस्त्र प्रहरीका १२ र एक जना प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले केबलकार निर्माणस्थलको माथि पाखाबाट ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । घटना यतिमा मात्र सीमित छैन । पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन् । उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान–वसन्तपुर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका छन् ।

बिहीबार भएको झडपको दृष्य

माघ दोस्रो साता केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए । यो बीचमा दुई पक्षबीच सहमति नहुनु र बिहीबारदेखि फेरि आन्दोलन सुरु हुँदा फेरि कुनै पनि बेला ठूलो दुर्घटनाको जोखिम बढेको छ । कुनै पनि बेला हुनसक्ने दुर्घटना रोक्न सरकारले बेवास्ता गरको भन्दै आलोचना पनि भएको छ ।

किन राज्य विद्रोहको लागि जनतालाई उकास्दै छ ? : डा. युवराज संग्रौला

किन राज्य विद्रोहको लागि जनतालाई उकास्दै छ ? पाथीभरामा केबलकार निर्माण नै राज्यको एकलौटी दायित्व हो ? जब कलह जन्मियो यसको समाधान खोज्ने होला नि ! जनतासँग राज्यले युद्ध लड्ने होइन । निर्माण स्थगित गरेर, स्थितिलाई शान्त पारेर छलफल गर्ने होइन राज्य व्यवस्थाको जिम्मेवारी ?

. हाम्रो राज्य व्यवस्थाले जनताको रजन गर्ने हो, अर्थात् खुसी पार्ने हो जनतालाई । जनतलाई शत्रु बनाउने होइन । कारण होला नि यो निर्माण विरोधका पछाडि । बुद्धले भनेका छन् हरेक कुराका पछाडि त कारण हुन्छ, र त्यसको निवारणको उपाय पनि हुन्छ । निवारणको मार्ग पनि हुन्छ । हाम्रा जीवन दर्शनले शान्तिको वकालत गर्दछन्, होइन र ?

२. देशको अर्थतन्त्र थाङ्थिलो भएको छ । अराजकता, भ्रष्टाचार र बिग्रह रोकेर जनतालाई उत्पादन र आर्थिक समृद्धिका बाटामा लगाउने बेला होइन अहिले ? यो समय ‘जनतासँग युद्ध लड्ने होइन ।’
राज्यले जनतालाई विश्वासमा लिनुपर्छ । उनीहरुको तर्क सुन्नुपर्छ । तर राजनीतिक दलहरू त देशमा रक्तपातको आधार सिर्जना गरिरहेका छन् ‘वित्त पुँजीवाद’ का पक्षमा । पैसा हुनेलाई त उद्योग खोलेर रोजगारको अवसर निर्माण गर्न लगाउने होइन ? राज्य धनी ५% को मात्रै हो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *