जर्मनी । बढ्दो मुद्रास्फीतिको प्रतिक्रियामा आक्रामक रूपमा युरोजोन ब्याज दरहरू बढाएपछि युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार सन् २०२४ मा रेकर्ड घाटा भएको जनाएको छ ।
फ्रेङ्कफर्टमा रहेको संस्थाले लगातार दोस्रो वर्ष घाटामा रहँदै गत वर्ष सात अर्ब ९० करोड युरो (आठ अर्ब ३० करोड डलर) घाटा बेहोरेको छ ।
सन् २०२३ मा केन्द्रीय बैंक एक अर्ब ३० करोड युरो घाटामा थियो । यो अपेक्षाकृत कम उधारो लागतको लामो अवधिपछि सन् २००४ पछि पहिलो घाटा थियो ।
यदि इसिबीले घाटा कम गर्न राखिएको छ अर्ब ६० करोड युरो सबै प्रयोग नगरेको भए सन् २०२३ को आँकडा गत वर्षको जस्तै हुने थियो ।
युक्रेनमा रुसको युद्धले ऊर्जा र खाद्यान्नको लागत बढाएका कारण सन् २०२२ जुलाईमा इसिबीले अभूतपूर्व दरमा उधारो लागत बढाउन थालेको थियो ।
मूल्य दबाब कम हुन थालेपछि सन् २०२३ को अन्त्यतिर केन्द्रीय बैंकको बेन्चमार्क निक्षेप दर चार प्रतिशतमा पुगेको थियो ।
मुद्रास्फीति घट्दै गएपछि इसिबीले सन् २०२४ जुनदेखि फेरि दरहरू कटौती गर्न थाल्यो तर यसको घाटालाई उल्लेखनीय रूपमा प्रभाव पार्न पर्याप्त थिएन ।
“धेरै वर्षको उल्लेखनीय नाफापछि घाटा आएको छ र मूल्य स्थिरता कायम राख्ने आफ्नो प्राथमिक जनादेश पूरा गर्न लिइएका नीतिगत कार्यहरूको परिणाम हो”, इसिबीले भन्यो ।
‘सन् २०२२ र २०२३ मा इसिबीको प्रमुख ब्याज दरहरूमा वृद्धि’ ले केन्द्रीय बैंक आफैँलाई आफ्नो दायित्वहरूमा उच्च ब्याज खर्च परिणाम गरेको छ जबकि यसको सम्पत्तिहरूमा ब्याजबाट हुने आय त्यति छिटो बढेको थिएन ।
पछिल्लो दुई वर्षको घाटा इसिबीको ब्यालेन्स सिटमा ‘भविष्यको नाफासँग सन्तुलित’ हुने केन्द्रीय बैंकले जनाएको छ ।
“इसिबीले आगामी वर्षहरूमा अझै घाटा बेहोर्नेछ”, केन्द्रीय बैंकले भनेको छ, “यदि यस्तो भएमा त्यस्ता कुनै पनि घाटाहरू सन् २०२३ र २०२४ मा भएका भन्दा कम हुने अपेक्षा गरिएको छ, त्यसपछि इसिबीले नाफा कमाउन फर्कने अपेक्षा गरिएको छ ।”
इसिबीले यो बलियो वित्तीय स्थितिमा रहेको र ‘कुनै पनि नोक्सान भए तापनि मूल्य स्थिरता कायम राख्ने आफ्नो प्राथमिक जनादेश पूरा गर्न सक्ने’ बताएको छ ।