सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन पहल गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरु र जनजीविकाका सवालहरुमा सुझावहरु लिंदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टी कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए । बैठकले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण व्यक्तित्वहरुलाई भेटघाट/संवाद गर्ने सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै पार्टीको केन्द्रीय सदस्यहरुको राजनीतिक अभिमुखीकरणका लागि फागुन ९ र १० गते आयोजना हुन गइरहेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने बैठकले निर्णय गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरेको छ भने बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम कविन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *