सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू नै रहेको बताएका छन् ।
बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा आफूले यसअघि नै गरेको बताएका हुन् ।
उनले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने र त्यसका लागि कांग्रेस कार्यकर्ताले दबाब सृजना गर्नुपर्ने बताए ।
पार्टी सभापति शेरबहादुर देउवा निकटका ११ नेताले गत शुक्रवार १५औं महाधिवेशनको रणनीतिबारे छलफल गरेको सन्दर्भमा उनले भने, ‘१५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा मेले गरिसकेको छु । ११ भाइको सक्रियताको कुरा उठ्यो, १४औं महाधिवेशनमा पनि उहाँहरूले देउवालाई सपोर्ट गरेकै हो ।’
उनले २०८४ को आमनिर्वाचनपछि महाधिवेशन भए पार्टी कमजोर हुने बताए । उनले भने, ‘मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’
कोइरालाले सरकारले प्रभावकारी भूमिका नखेले देशको स्थिति थप अप्ठ्यारोमा पर्ने बताए । उनले भने, ‘सातबुँदे सहमति अनुसार सरकार अघि बढेको छैन । आर्थिक अवस्था सुधार भएन । सुशासन त छँदै छैन ।’