फेरि राजा बन्ने सपना नदेख्न पूर्वराजालाई एमाले सचिव भट्टराईको आग्रह

सुर्खेत । नेकपा एमाले सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न आग्रह गरेका छन् ।

बिहीबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन पूर्वराजालाई आग्रह गरेका हुन् । उनले जनताले फ्याँकिसकेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।

उनले भने, ‘उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो । फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन । अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन ।’ उनले पूर्वराजाको वक्तव्यपछि राजावादीहरु हौसिनुको कुनै अर्थ नरहेको बताए ।

उनले भने, ‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो । अब राजतन्त्र आउनेभो भनेर हौसिनुको अर्थ छैन ।’

प्रजातन्त्र दिवसका अवसरमा मंगलबार भिडियो सन्देश जारी गरी पूर्वराजा शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

उनले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताए । उनले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे ।

सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुने बताए । उनले भने, ‘राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौं र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहन्न ।’

यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, ‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *