वीरगञ्ज । जनकपुरधामका निजी अस्पतालको अनुगमनपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जका निजी अस्पतालको छड्के अनुगमन सुरु गरेका छन् ।
बुधबार मुख्यमन्त्री नेतृत्वको अनुगमन टोली वीरगञ्जको भवानी हस्पिटल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पतालको छड्के अनुगमन गरेको छ ।
अनुगमनका क्रममा भवानी अस्पतालमा निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । त्यस्तै प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिएका छन् ।
अनुगमन गर्ने क्रममा अस्पतालले अनुमति नलिई सञ्चालन गरेको पाइएकोले अस्पतालमा उपचार गराइरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुररले जानकारी दिए ।
अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टरको अस्पताल सञ्चालनका लागि आवश्यक इजाजत पत्र लगायत कुनैपनि कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न पत्र काटेको अनुगमन टोलीमा सहभागी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
अनुगमनका क्रममा अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोर पदार्थको उचित व्यवस्थापन नगरिएको, विपन्न, ज्येष्ठ नागरिकलाई उपचार शुल्कमा दिनुपर्ने १० प्रतिशत छुटको प्रावधान लागू नगरिएको, इजजात लिएको भन्दा बढी संख्यामा शय्या सञ्चालन गरेको पाइएको थियो ।
यसअघि मुख्यमन्त्री सिंहले जनकपुरका पनि ४० भन्दा बढी निजी अस्पतालहरूको छड्के अनुगमन गरेर नियम विपरीत सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।