पूर्वराजाको सन्देशका सारथी

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गरे । सन्देशमा उनले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका छन् । पूर्वराजाले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’ देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन् ।

पूर्वराजाको यो सन्देशपछि राजावादीहरु खुसीले जुर्मुराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको बताएका छन् । राणाले देशलाई गम्भीर संकटबाट निकाल्न सबै पार्टी, समूह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले सबैमा आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ । राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपालीले मिलेर अघि बढौँ, यही मेरो सबैमा आग्रह छ ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यसलाई सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दिइएको राजा ज्ञानेन्द्रको यो सन्देश सुनौँ । राष्ट्रिय मेलमिलापको यो सन्देशलाई सकारात्मक रुपमा ग्रहण गरौँ । देश बचाउन र बनाउन राजाबाट सहयोगका निम्ति आह्वान भएको छ । विना आग्रह पूर्वाग्रह राजाको आह्वानमा सहयोगको हात बढाऔँ ।’

त्यसैगरी राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि पूर्वराजाको सन्देशबाट खुसी भएका छन् । उनले सन्देश प्रशंसनीय रहेको बताएका छन् । उनको टिप्पणी छ, ‘फाल्गुन ७ को दिन राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट हाम्रो देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको दिन हो । नेपालीहरुको लागि यो ऐतिहासिक महत्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहासिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ । यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्य सम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ ।’

पूर्वराजाको सन्देशपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पाँच वटा माग अघि सारेका छन् । उनले राष्ट्रपति वा राजसंस्थाको बारेमा जनमत संग्रहको माग पनि अघि सारेका छन् ।
यस्ता छन् शाहीका माग

अवस्था र व्यवस्था बदल्न भ्रष्टाचारीलाई हदैसम्म कारबाही गर्न सबै एकजुट बनौँ।
१) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
२) प्रदेश संरचनाको खारेजी
३) राष्ट्रपति वा राजसंस्थाको बारेमा जनमत संग्रहको माग
४) हिन्दू ,बुद्ध ,किरातँ सहितको वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना
५) भ्रष्टाचारीलाई आजीवन कारावास गर्न एउटा शक्तिशाली नागरिक आयोगको गठन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *