काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलोपटक जापानको भ्रमण गरेको छ। तालिबान अधिकारीद्वारा विरलै देशबाहिर भ्रमण गर्ने गरेको पाइन्छ।
उच्च शिक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू सम्मिलित अफगान प्रतिनिधिमण्डल शनिबार काबुलबाट एक हप्ता लामो भ्रमणमा जापान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
‘हामी बलियो, एकताबद्ध, उन्नत, समृद्ध, विकसित अफगानिस्तानका लागि र अन्तर्राष्ट्रिय समुदायको सक्रिय सदस्य बन्नका लागि विश्वसँग सम्मानजनक अन्तर्क्रिया चाहन्छौँ,’ प्रतिनिधिमण्डलमा सहभागी अर्थ मन्त्रालयका उपमन्त्री लतिफ नजरीले शनिबार सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्।
तालिबान सरकारका अधिकारीले मध्यएसिया, रुस र चीनलगायत छिमेकी र क्षेत्रीय मुलुकहरूको नियमित भ्रमण गर्दै आए पनि ती मुलुकबाहेकका राष्ट्रमा विरलै भ्रमण गर्ने गरेका छन्।
तालिबान अधिकारीले यसअघि सन् २०२२ र सन् २०२३ मा नर्वेमा हुने कूटनीतिक शिखर सम्मेलनका लागि औपचारिक रूपमा युरोपको भ्रमण गरेको थियो। काबुलमा रहेको जापानी दूतावास पूर्ववर्ती विदेशी समर्थित सरकारको पतन र सन् २०२१ मा तालिबानले कब्जा गरेपछि अस्थायी रूपमा कतारमा सारिएको थियो।
यद्यपि, त्यसपछि यसले देशमा कूटनीतिक र मानवीय गतिविधिहरू पुनः सुरु गरेको छ।