-सुवोधराज प्याकुरेल ।
अहिलेको आक्रोश आक्षेपको अन्तर्यमा म दुईवटा कारण देख्छु, १, नागरिकमा वैदेशिक सहयोगको प्रयोग उपयोग कसरी हुन्छ भन्ने जानकारीको अभाव र २, गरीब मानसिकताले ओतप्रोत असन्तुष्टहरुको आक्रोशित मानसिकता । गैरसरकारी क्षेत्रले पाउने अनुदान कूल सहायता राशीको ५ प्रतिशत पनि छैन । त्यो पनि अर्थ मन्त्रालयको अभिलेख र जानकारी सहित । सरकारी अभिलेख रुजु नगरी समाजकल्याण परिषदले स्वीकृति दिनै मिल्दैन । हो पञ्चायतकालभरि दरबारको आदेशमा सोझै व्यक्ति वा संस्थाको नाममा विदेशी दान सहयोग सहायता रकमान्तर हुन्थ्यो र त्यसको हरहिसाब र जानकारी अहिलेजस्तो स्थानीय तह, लेखापरीक्षण, राजश्व कार्यालय र समाजकल्याण परिषदको स्वीकृति पश्चात जिल्ला प्रशासन कार्यालयले बर्षैपिच्छे नविकरण गर्ने चलन थिएन ।
पञ्चायतकालमा केही व्यक्तिले सोझै अनुदान पाए होलान् । काठमाण्डू ल कलेजले पनि लियो होला । युवराज संग्रौलाको सेलर्डले अमेरिकी सहयोग लिएर थुप्रै कार्यक्रम गरेको होला । कैयन शिक्षण संस्थाले चिनियाँ सहयोग लिएर संरचनात्मक विकास गरेको पनि भनिन्छ । यो भयो, के भइरहेको छ भन्ने कुरा ।
गाँठी कुरा के हो भने, प्राप्त सहयोगको उपयोग के काममा गरियो ? दाताको निरन्तर अनुगमन र सरकारी निकायको चौतर्फी नियन्त्रणमा गरिनुपर्ने उपयोगमा कुनै गफलत भयो भने दाता र सरकार दुबै दोषी भए कि भएनन् भन्ने कुरालाई गौण राखेर प्रापकलाई मात्र एकोहोरो आक्रमण गर्नु विल्कुलै गरिबी र आक्रोशित मानसिकताको उपज हो ।
यमराजले पनि जीवनको कुरा गर्छ भने त्यहाँ सहकार्य हुन्छ र गर्नुपर्छ । खास कुरा प्रयोगको गरौँ । त्यसमा पारदर्शिता र जवाफदेहिताको गरौँ । आक्रमणमा लिप्तहरुले सूचनाको अधिकारको उपयोग गरौँ । यथार्थमा गफलत देखिए अग्रसर भएर कारबाहीको प्रकृया अगाडि बढाऔँ । सार्वजनिक सञ्जालको दुर्दशा यही हो कि जे मन लाग्यो औँलाले ठोकिदियो । त्यसले आमनागरिकलाई विद्वेशी बनाउँछ, शंका बढाउँछ र मानसिक उद्वेग बढाउँछ ।
गलत कुरा समाजमा हावी नहोस् भन्नका खातिर यथार्थ जान्नेहरुले सत्यासत्यको पक्षमा सामाजिक सञ्जालमा लेखिरहनुपर्ने झण्झट आइलागेको छ । युएसएआइडीको सहयोगमा सञ्चालित बालबालिकाको दिवा खाजा, एचआइभी संक्रमित रोगीको निरन्तर उपचार, टिबी रोगको निदान, साना किसान, सार्वजनिक स्वास्थ्य जस्ता अनेकौं कार्यक्रमलाई निरन्तरता नदिइ नहुने अवस्था छ । त्यसबारेमा के गर्नुपर्छ भन्ने बारेमा सामाजिक सञ्जालका आक्रोश–नायकहरुले लेखेको त देखिएन । संवेदनाशून्य भएन ?
केही टेलिभिजनमा पनि युएसएड सहयोग रोकिँदा रुवाबासी जस्ता शीर्षकमा अनेक प्रलाप पनि देखियो । सत्योद्घाटन गर्ने जिम्मेवारी पाएका प्रस्तोता र वक्ता पनि सतही ढाँचाले जनता भाँड्नमा लागेको लागै छन् । अचम्भित त त्यतिबेला हुनुपर्छ जब प्रशस्त वैदेशिक सहयोग पाउने लिनेहरु नै अग्रपंक्तिमा देखिन्छन् ।