धरान (सुनसरी) । धरानमा जारी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको ‘सुपर लिग’का दुवै खेल बराबरी भएको छ ।
कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा भइरहेको सुपर लिगको पहिलो खेलमा पाँचथर युनाइटेड र खोटाङको बुइपा–११ ले एक–एक गोल गरे । खेलको ६३औँ मिनेटमा बुइपाका रवीन्द्र राईले गोल गरे भने खेलको अन्तिम मिनेटमा पाँथचरका सुशील लावतीले गोल फर्काए ।
खेलको ‘म्यान अफ दी म्याच’ बुइपाका प्रविन्द्र राई घोषित भए । राईले नगद रु पाँच हजार प्राप्त गरे । आजै भएको दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लब र उदयपुरको गाईघाट फुटबल क्लब पनि गोलरहित बराबरी भए । उनीहरुले एक–एक अङ्क बाँडे । खेलको म्यान अफ दी म्याच देउरालीका विश्व लिम्बू घोषित भई नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
सुपर लिगमा प्रवेश गरेका चारै टिमबीच मङ्गलबार खेल हुनेछ । पाँचथर समूह ‘ए’बाट विजेता बन्दा गाईघाट समूह ‘बी’बाट विजेता बनेको छ । त्यसैगरी देउराली युथ क्लब समूह ‘सी’बाट विजेता बनेको छभने खोटाङ समूह ‘डी’बाट विजेता बन्दै सुपर लिगमा प्रवेश गरेको छ ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबीच प्रतिस्पर्धा भएको थियो । यस प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिग छनोटका लागि हुने अन्तर प्रादेशिक लिगका लागि छनोट हुने छन् ।
प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टिमले रु एक लाख २५ हजार र चौथो हुने टिमले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।