काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा हरुवा चरुवा भर्ती केन्द्र भएको बताएका छन् । राष्ट्रियसभाले आफ्नो अभिव्यक्तिप्रति खेद प्रकट गरेपछि आइतबार साँझ सामाजिक संजालमार्फत शाहीले वृद्धाश्रमलाई के बाल आश्रम भन्नु त ? भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त ? चुनाव हारेका हरुवा चरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रियसभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ? मेराविरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस् । हरुवा, चरुवा वृद्राआश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’
राष्ट्रियसभाको आइतबारको बैठकले सांसद शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर खेद प्रकट गरेको थियो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीले सभाको कामकारबाही र सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको देखिएकोप्रति खेद प्रकट गरेका हुन् ।
राष्ट्रियसभाले माघ २८ गते पारित गरेको ‘मिडिया काउन्सिल विधेयक’लाई लिएर सामाजिक सञ्जाल फेसबुकमा शाहीले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष दाहालले भने, ‘कपोलकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता तथा उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ, आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राख्न निज माननीय सदस्यलाई यो सभा निर्देशन दिन्छ ।’