काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीबाट पीडित भएकाको उद्धारका लागि भैरहेको असमानताप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
शनिबार पोखरामा बेलुन पड्किएर त्यसको जलनबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना र काठमाडौंकै कमलपोखरीस्थित शानदार मम सेन्टरमा आगलागी भएको घटनालाई स्मरण गराउँदै आपत्ति जनाएकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद कंसाकारले मन्त्री र मेयरलाई ल्याउन हेलिकप्टर तर सर्वसाधारणलाई गाडीको हुटमा राख्नुपरेको भन्दै आपत्ति जनाएकी हुन् ।
कमलपोखरीमा आगलागीबाट पीडित भएकाको उद्धारका लागि एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गरिएको उनले बताइन् ।
उनले भनिन्, ‘अस्ति भर्खर सान्दार मःममा ग्यास सिलिण्डर विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यू र मेयरज्यूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । थिङ्क सेफ्टी, डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित हुनु भएन ।’
उनले अर्थमन्त्री र मेयरको स्वास्थ्य लाभको कामना गरिन् । शनिबार पोखरामा बेलुुन पड्किएर त्यसको जलनबाट घाइते भएका अर्थमन्त्री र पोखराका मेयरलाई हेलिकप्टरबाट ल्याइएको थियो ।
जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने उनले बताइन् । यही आवश्यकता महसुस गरेर आफूले संसदमा गैरसरकारी विधेयक दर्ता गरेको तर अहिलेसम्म अगाडि नबढेकाले त्यसलाई अगाडि बढाउन आग्रह गरिन् ।