सत्तारुढ दलहरुसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा समस्या भयोः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताकोतस्तै पारित हुने अवस्था नबनेको बताएका हुन् ।

संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरु फराकिलो छलफलमा रहेको विश्वकर्माले बताए ।

उनले भने, ‘प्रतिनिधिसभामा बहुमत रहेको, राष्ट्रिय सभामा बहुमत नरहेको, यो परिस्थितिमा सरकारले सोच्नुपथ्र्यो । सबैसँग सरसल्लाह गरेको भए त यो कुरा उठ्दै उठ्दैन थियो । त्यो बेलामा हतार गरेको कारणले गर्दा अहिले अध्यादेश जस्ताको तस्तै पारित गर्ने कुरामा चाहीँ सरकार फराकिलो छलफलमा छ अहिले ।’

उनकाअनुसार विगत दुई तीन दिनमा सत्ता समीकरणमा रहेका प्रमुख दलहरुले सरकारको सहायक भूमिकामा रहेका, समर्थनमा रहेका र विरोधमा रहेका दलहरुसँग पनि अध्यादेशको बारेमा छलफल गरिरहेका छन् ।

प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरु संशोधन गर्नेगरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यससन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको उनले बताए ।

अध्यादेश ल्याउन पाउने कुरामा कुनै विमति नरहेको र यो प्रक्रिया संविधानसम्मत नै रहेको उनले बताए । भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट नै केही आशंका व्यक्त भएको उनले सुनाए । राष्ट्रपति पौडेलले दलहरुको बीचमा मिहिन छलफल पछिमात्रै उक्त अध्यादेश आउनुपर्ने कुरा राखेको पनि उनले बताए ।

उनले भने, ‘अध्यादेश ल्याउन पाउने भन्ने संवैधानिक प्रावधान छ । अध्यादेश संविधानबमोजिम छ, कानुनबमोजिम छ । यसबारेमा कसैको विमति छैन । भूमिसम्बन्धी अध्यादेशको विषयका बारेमा स्वयं राष्ट्रपतिज्यूले पनि अलि फराकिलो छलफल गर्नुपथ्र्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *