काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालले दुबै जनाको पाँचदेखि ६ प्रतिशत जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा राखेर उपचार भइरहेको जनाएको छ ।
जलेपछि उनीहरुलाई शनिबार दिउँसो ३ बजेतिर अस्पताल ल्याइको थियो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।