फिक्कल (इलाम) । दीपेन्द्र शिखर फुटबल क्लब इलामले जिल्लाको माङसेबुङ गाउँपालिकामा सञ्चालित १५औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई १–० गोलको अन्तरमा रोक्दै दीपेन्द्र शिखरले उपाधि जितेको हो । सोस्तिमा विश्वकर्माले खेलको ४५औँ मिनेटमा गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बनेको थियो ।
सुरुवाती अग्रतासँगै रक्षात्मक खेल खेलेको दीपेन्द्र शिखर उपाधि पाउन सफल भयो । उता कनकाईले खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।
उपाधिसँगै विजेता दीपेन्द्र शिखरले नगद तीन लाख एक सय ६९ सहित ट्रफी हात पार्यो । उपविजेता बनेको कनकाईले नगद दुई लाख एक सय ६९ मा चित्त बुझायो ।
फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता दीपेन्द्र शिखरकी सोस्तिमा विश्वकर्मा घोषित हुँदै नगद पाँच हजार ६९ प्राप्त गरिन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दीपेन्द्र शिखरकी झरना नरकोटी, उत्कृष्ट डिफेन्डर दीपेन्द्र शिखरकी सजिना कोइराला, उदयीमान खेलाडी ताप्लेजुङ फुटबल सङ्घकी प्रजिता राई र सर्वाधिक गोलकर्ता उपविजेता कनकाईकी समीक्षा मगर (५ गोल) घोषित भइन् ।
उनीहरूले जनही नगद पाँच हजार ६९ प्राप्त गरेका आयोजक आत्मा–पवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । विजेता र उपविजेता टिम र खेलाडीलाई माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले पुरस्कार हस्तान्तरण गरे ।
स्थानीय धर्मगुरु आत्मानन्द लिङ्देन पत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ६९औँ जन्मोत्सवको अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ र भारत दार्जिलिङका गरी ८ महिला टोलिको सहभागिता थियो ।