-मिलन पाण्डे ।
आम आदमी पार्टीको हारलाई देखाएर, नेपालमा पनि वैकल्पिक राजनीति सकियो भनेर गर्न खोजिएको विश्लेषण पूर्वाग्रही लाग्यो । यो बारे मेरो ७ बुँदे विचारः
१) दिल्ली विधानसभा चुनावमा भाजपाले आम आदमी पार्टी (-AAP) लाई २६ सिटको अन्तरले पराजित गर्यो, तर दुवै पार्टीबीचको मत प्रतिशतको अन्तर केवल २.०६ प्रतिशत अङ्क मात्र थियो । भाजपा ४५.६१% भोट प्रतिशतसहित ४८ सिटमा विजयी भयो भने, AAP ले ४३.५५% मत प्राप्त गर्दा पनि केवल २२ सिट जित्न सक्यो। यो राजनैतिक विषय मात्र होइन, प्राविधिक विषय पनि हो।
२) आम आदमी पार्टीको १० प्रतिशत मत घटेको देखिन्छ, तर यो सामान्य हो । ३ पटक मुख्यमन्त्री बनेको, १० वर्ष शासन गरेको पार्टीको मत ४–५ प्रतिशत घट्नु स्वाभाविक हो । ४–५ प्रतिशत सत्ताको आडमा घटेको देखिन्छ । १० वर्ष शासन गरेको काँग्रेसले पनि, सन् २०१५ मा १० प्रतिशत मत पाएर शून्य सिट ल्याएको थियो। लोकतन्त्रमा विकल्प खोजिनु सामान्य कुरा हो ।
३) केजरीवाल लगायत नेताहरू किन हारे ? यो विषय पनि राजनैतिक मात्र नभएर प्राविधिक पनि छ। केजरीवालको राजनीति त जिम्मेवार छ नै, तर त्योभन्दा बढी सत्ताको आडमा जसरी भोटर लिस्टमा रहेका -AAP समर्थकलाई भोटर लिस्टबाट हटाएको भन्ने आरोप/मुद्दा छ, त्यसबारे निष्पक्ष छानबिन नभएसम्म यसलाई विश्लेषण गर्न हतार होला।
४) यस पटक लोकसभा निर्वाचनमा भाजपा र विधानसभा निर्वाचनमा आम आदमी पार्टीलाई भोट हाल्ने मतदातालाई भाजपाले विधानसभामा पनि रोक्न सफल भयो। मध्यम वर्गीय परिवारका लागि निर्वाचनको केही दिन अघिको बजेट भाषणमा रहेको १२ लाखसम्मको ट्याक्स फ्री योजना प्रभावकारी रह्यो। शराव घोटालामा प्रश्न उठेर कन्फ्युज भएका नागरिकलाई यसले तान्यो ।
५) पानी, बिजुली, बस फ्री— अनि, अरू के त ? धारा, पानी, बिजुलीको राजनीतिले आम आदमी पार्टीलाई यहाँसम्म ल्याएकै हो। तर १० वर्षदेखि यही मुद्दाले गर्दा ‘अब के त ?’ भन्ने प्रश्न उठ्यो, जसको उत्तर आम आदमी पार्टीले दिन सकेन। फलस्वरूप, केही मतदाता भाजपा तिर लाग्दा, आम आदमी पार्टीले केही सिट गुमायो ।
६) केजरीवाल र आम आदमी पार्टीमा कमजोरी छैन भनेको होइन । कमजोरी देखिए, चुनौती पनि छन्। दिल्लीबाट उदाएको पार्टी दिल्लीमै हार्नु, पन्जाबमा राम्रो गर्न नसक्नु चुनौतीपूर्ण छ। योगेन्द्र यादवले भने झैँ, ’आपलाई नागरिकले मन्दिर ठानेका थिए, यो पनि अर्को एउटा पसल निस्कियो’ भन्ने प्रश्न/ चिन्ता गम्भीर छ। तर, आम आदमी सकियो भन्ने भाष्य गलत छ। पार्टी जीवनमा यस्तो चरण आउँछ।
७) यही विषयलाई लिएर केही व्यक्तिहरू नेपालमा पनि वैकल्पिक राजनीति सकियो भन्दै छन्। पहिलो कुरा, भारतमा पनि वैकल्पिक राजनीति सकिएको छैन।
कसैलाई रवि मन नपर्न सक्छ, कसैलाई बालेन । जसरी हिजो धेरैलाई उज्वल थापाहरू मन पर्दैन थियो। तर, काङ्ग्रेस–एमालेको नयाँ जोगाउन ‘वैकल्पिक राजनीति सकियो’ भन्ने भाष्य आफैँमा अधुरो, अपुरो र पूर्वाग्रही छ। आम आदमी पार्टीले आफ्ना कमजोरी सुधारोस् । दिल्लीका नागरिकले आम जीवनमा परिवर्तनको आभास गर्न सकुन् । छिमेकी देशका नागरिकहरूलाई शुभकामना।