धरान । पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । समूह ‘ए’को विजेता हुँदै पाँचथर युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।
धरान रङ्गशालामा बिहीबार भएको खेलमा पाँचथर युनाइटेडले सङ्खुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ दी म्याच भने पाँचथर युनाइटेडका बेघम गुरुङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
यस्तै समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली फुटबल क्लबले इलामको रेडहर्ष क्लबलाई २–० गोलअन्तरले पराजित गर्यो । शुक्रबार रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समूह ‘सी’को विजेताको टुङ्गो लाग्ने छ ।
शुक्रबार धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल तथा इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीच दोस्रो खेल हुनेछ ।
कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही फागुन ८ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा कोशी प्रदेशका ११ जिल्लाका फुटबल क्लबको सहभागिता रहेको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।