बंगलादेशमा राज्य प्रणालीमा सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिने

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्ले जारी गरेको परिपत्रअनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिएको हो ।

छ महिनाको समयावधि रहेको आयोगमा यसअघि गठन भएका विभिन्न छ वटा सुधार आयोगका प्रमुखहरु रहेका छन् र फब्रुअरी ३ तारिखदेखि काम सुरु हुनेछ ।

नवगठित आयोगले राजनीतिक दल र सरोकारवालासँग छलफल गरी जनताको अपेक्षाअनुरुप सुधारका विषयमा राष्ट्रिय सहमति कायम गर्न सहयोग पुर्याउने अधिकारीहरूले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि युनुसले सन् २०२४ अगष्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए ।

सेप्टेम्बर ११ मा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले निर्वाचन प्रणाली, प्रहरी, न्यायपालिका, सार्वजनिक प्रशासन, संविधान र भ्रष्टाचार निवारण आयोगमा सुधारका लागि छ वटा आयोग गठन गर्ने घोषणा गरेका थिए ।

युनुसले सुधारलाई छिटो अघि बढाउने र त्यसपछि चुनाव गराउने प्रतिबद्धता जनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *