महिला क्रिकेटमा बैतडी च्याम्पियन

 

बैतडी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम प्रदेशको छनोटमा बैतडी च्याम्पियन भएको छ ।

बुधबार भएको फाइनल खेलमा कञ्चनपुरमाथि १ रनको रोमाञ्चक जित निकाल्दै बैतडी च्याम्पियन बनेको हो । च्याम्पियन भएसँगै बैतडीले स्वर्णपदक हात पारेको छ । जितका लागि पाएको १०१ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो ।

कञ्चनपुरकी सावित्री धामीले अर्धशतकीय पार खेल्दै ५० रन बनाए पनि टोलीलाई जिताउन सकिनन् । बलिङतर्फ बैतडीकी आरती बोहराले २ विकेट हात पारिन् । पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो । जसमा ममता चन्दले २५ र रेनु पेलाले अविजित १३ रन बनाइन् ।

कञ्चनपुरकी सावित्री धामीले २ विकेट झारिन् । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म  कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *