काठमाडौं । लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको छ । अध्यक्ष ठाकुरले बुधबार विज्ञप्ति जारी गरी भूमिसम्बन्धी अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरीब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायतका पूर्णरूपमा कृषिमा आधारित गरीब समुदायलाई यसको उपलब्धिको दायराबाट वंचित राखिने तथा यो अध्यादेशले वन–फडानी र अवैध कब्जा गर्ने प्रवृतिलाई बढावा दिने हाम्रो ठहर छ। समग्रमा यो अध्यादेश जनताको हित विपरित भएको हाम्रो स्पष्ट धारणा छ ।’
लोसपा सांसद शरतसिंह भण्डारी श्रममन्त्री छन्। यसअघि जनता समाजवादी पार्टी नेपालले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।