-जेपी गुप्ता।
ठुलाबडाका इतिहास लेखनको होडमा थोरै भएपनि सामान्य देखिने तर ‘गेम चेन्जर’ हरूको स्थान सुरक्षित रहनु पर्दछ । यो एक अपेक्षा मात्र हो। बाराणसीको मेहबूरगंजमा रहनु भएका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला तथा चक्र बास्तोलाहरूका माझ बीपीको एउटा संक्षिप्त सन्देश पुगेको थियो । र त्यहाँ चर्चा भयो–’कस्तो हुनेछ यो रेफरेण्डम?’ उहाँहरूले जनमत संग्रह भनेरै बुझ्नु भएको थियो ।
न भन्दै, लगत्तै राजा वीरेन्द्रबाट ‘सुधार सहितको पञ्चायती व्यवस्था’ वा ‘बहुदलीय व्यवस्था’ छान्नका लागि आमनेपाली जनताका सम्मुख ‘जनमत संग्रह” हुने घोषणा भयो । बि.स. २०३६–०३७ को ऐतिहासिक विद्यार्थी आन्दोलनको क्रममा राजाबाट यो घोषणा भएको थियो । मेरो बिचारमा त्यो शाही घोषणा अप्रत्याशित थिएन । कट्टरपन्थी पञ्चहरूको अपरिवर्तनीय सोचबाट मुलुकलाई निकास दिन राजाको विचारित कदम थियो । यद्यपि यो अपेक्षित परिणाम दिएन। परिवर्तनका लागि चालिने हरेक कदम ठिक परिणाम दिँदैन ।
जनमत संग्रहमा थोरै मतको अन्तरले ‘बहुदलीय व्यवस्था’ को विकल्प पराजित भयो । एक्लो नेपाली कांग्रेसले बहुदलको पक्षमा प्रचार गरेको थिया । केही साना वामपन्थी समू हहरू तथा अरूहरू पनि बहुदलको पक्षमा देखिएका थिए। आजको एमाले त्यसबेला माले नामबाट भूमिगत रहेका थिए, जो जनमत संग्रहलाई बहिष्कार गरेका थिए । आज यसबारे चर्चा हुन छोड्यो । तर, त्यसबेला यो बिषय गम्भीर रूपमा बहसमा थियो कि मालेले जनमत संग्रह बहिष्कार गरेर परोक्ष रूपमा पञ्चायती व्यवस्थालाई सघाएको थियो ।
बीपी कोइरालाले जनमत संग्रहलाई स्वीकार गर्नु भएको थियो । त्यसमा बहुदलको पराजयलाई पनि स्वीकार गर्नुभयो । गणेशमान सिंहले परिणामलाई स्वीकार गर्नु भएन । कालो ओढ्ने ओढेको आफ्नो तस्बिर सहितको पोष्टर छपाउन लगाई उहाँले जनमत संग्रहमा ठूलो धाँधली गरि पञ्चायती व्यवस्थालाई विजयी गराइएको आरोप लगाइएको थियो। गणेशमानजीको यो मत त्यसबेला लोकप्रिय थियो ।
बीपी कोइरालाले गणेशमानजीका समक्ष एक प्रश्न वा जिज्ञासा राख्नु भएको थियो । बीपीको जिज्ञासा थियो–’२०१५ सालको पहिलो आमनिर्वाचनमा संसदमा चार सीट जित्ने कम्युनिष्टहरू, जो आज संगठनात्मक रूपमा बढी बलिया पनि छन्, के पुरै मुलुक भरमा बालिग मताधिकारको आधारमा भएको जनमत संग्रहमा बहुदलका पक्षमा चारलाख मत पनि थप्न सक्दैन्थे त ?’ बीपीको स्पष्ट मत थियो, ‘बहुदलको पराजयमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले गरेको धाँधली त देखिएको कुरो हो, जबकी पञ्चायतसँग मालेको तारतम्य बहुदल पक्षको पराजयको न देखिएको सत्य हो।’ गणेशमान जी यसमा सहमत हुनु भयो।
बीपीको त्यो आशंका पछि गएर पुष्टि भयो, जब पञ्चायती व्यवस्था अन्तर्गत भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा वामपन्थी कम्युनिष्टहरूबाट खुला रूपमा समर्थित जनपक्षीय भनिएका जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठ चितवनबाट, द्रोणाचार्य क्षेत्री झापाबाट तथा केही अरूहरू पनि विजयी हुनुभयो । मैले यति मात्र स्मरण गरेको हुँ कि–“त्यसबेला कम्युनिष्टहरूले पञ्चायती व्यवस्थालाई सघाएका थिए । सत्य यही हो। यद्यपि, यहाँ यस सानो आलेखमा मैले उठाउन खोजेको मूल बिषय भने यो होइन। बिट मारौं !
कुरो के हो भने पञ्चायती व्यवस्थामा भएको त्यस कालखण्डका राष्ट्रिय पञ्चायतको चुनावमा अनेकन बहुदल पक्षीय जनपक्षिय भनौं वा प्रजातन्त्रवादीहरू विजयी हुनुभयो । अनेक स्वभावका, गम्भीर अगम्भीर अनेक पहिचानका झापाबाटै पुहातु चौधरी, मोरङबाट उमेशजंग थापा, सप्तरीबाट गजेन्द्र नारायण सिंह, सर्लाहीबाट रामनारायण सिंह–लक्ष्मी सिंह, मकवानपुरबाट रूदाने रूपचन्द्र विष्ट, काठमाडौंबाट नानीमैया दाहाल र अरूहरू पनि ।
पञ्चायती व्यवस्था खलबलियो । रामनारायण सिंहलाई थुनियो । उहाँकी श्रीमती लक्ष्मी सिंह जित्नु भयो । चितवनबाट जित्नु भएका भीमबहादुर श्रेष्ठलाई सिंहदरबार भित्रै ग्यालरी बैठक जहाँ रा.प. को बैठक हुन्थ्यो, त्यसैका अगाडी कुटियो । गजेन्द्रनारायण सिंहले धोती लगाउनु भएको कारण देखाई रा.प.स. को शपथ ग्रहण गर्न दिइएन । यही क्रमका एक हुनुहुन्थ्यो–नानीमैया दाहाल । उहाँको पृष्ठभूमि अलिक फरक थियो। आफ्नो उम्मेदवारीमा पञ्चायत विरोधीहरूको अहम् भूमिकाका बारेमा नानीमैया अबोध रहनु भएपनि पञ्चायतलाई चुनौतिको खाडलमा धकेल्न व्यवस्था विरोधीहरूको प्रवल मतको हकदार नानीमैया हुनुभयो ।
यो कथा,यस्ता कथाहरू तथा पञ्चायती व्यवस्थाको विरोधका लागि अपनाइएका अनेकन शैलीहरू, यसका नायकहरूको इतिहास अब शायद लेखिन्न । आजको राजनीतिमा स्थापित नायकहरूका गाथाहरूले जन्माएका नैराश्यले नानीमैया वा यस्तै अरूहरूका इतिहासका स्मरणहरूलाई लेखनीमा रूपान्तरित हुन दिँ दैन होला। यी पात्रहरू पनि एक एक गरी हराउदै जानुभयो । यसै मध्येका नानी मैया पनि सबैको जाने गन्तव्य तिर जानु भयो ।
याद राख्नेले सम्झिनेछन् –राष्ट्रिय पञ्चायत सदस्यमा तपाईंको जित ‘पञ्चायती व्यवस्थाको ताबूदमा एउटा काँटी ठोकिएको’ सरह थियो । नानीमैयालाई देखेर हाँस्नेहरू पनि थिए, झस्किनेहरू पनि, त्यहीबेला नानीमैयाहरूलाई देखेर जनताको बदलिदों सोचको आभाष पाउनेहरू पनि थिए ! नानी मैया ! बैकुण्ठ बास सुनिश्चित होस् !