कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले देशको सपुगस्कण्ड तेल प्रशोधन केन्द्रको विकास गर्ने र सोही कम्प्लेक्स भित्र निर्माण–सञ्चालन–स्थानान्तरण (बीओटी) मोडेलमा प्रतिदिन एक लाख ब्यारेल क्षमताको नयाँ रिफाइनरी स्थापना गर्ने प्रस्तावलाई स्वीकृत गरेको सरकारी सूचना विभागले जनाएको छ ।
सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले बजारको माग पूरा गर्न सपुगस्कण्ड तेल प्रशोधन केन्द्रलाई परिमाणात्मक र गुणात्मक रूपमा आधुनिकीकरण तथा स्तरोन्नति गर्न विभिन्न प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ ।
वर्तमान सरकारको ऊर्जा नीति ढाँचा अन्तर्गत विद्यमान रिफाइनरीको आधुनिकीकरण र नयाँ रिफाइनरी निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
सन् २०२२ मा भएको सम्भाव्यता अध्ययनका आधारमा उपयुक्त लगानी साझेदार पहिचान गर्न सीपीसीले स्वीकृति दिएको विभागले जनाएको छ ।
सन् १९६९ मा बनेको सापुगस्कण्ड तेल प्रशोधन केन्द्र देशमा यस प्रकारको एक मात्र सुविधा हो । यसले हालको क्षमतामा रिफाइनरीले प्रशोधित पेट्रोलियम उत्पादनहरूको लागि स्थानीय मागको २५ प्रतिशत मात्र पूरा गर्दछ ।