रुकुम पूर्वमा खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपितको  पनि भाग्ने क्रममा लडेर मृत्यु

 

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ ।

मङ्गलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो । समीर र ढाँटी नाति र हजुरआमा हुन् । सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ । स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको उनले बताए । चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *