अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । काठमाडौँमा फागुन पहिलो साता हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको प्रारम्भिक‌ जानकारी दिएको हो ।

आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलो पटक चार देशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान फागुन १ गते तथा बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । १ करोड ३५ लाख टिकटिङ अधिकार तथा ६६ लाखमा ब्रोडकास्टिङ अधिकार बिक्री गरेको एन्फाले जनाएको छ ।

साधारणतर्फ १० हजार ५ सय टिकट मात्र बिक्री गरिने र ७ सय ५० वटा भीआईपी टिकट बिक्री गरिने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ ५ सय तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *