प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको विरोध, बैठक १५ मिनेटका लागि स्थगित

 

काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन् ।

सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएकोलगायतका विषयमा आफ्नो धारणा राखे । सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए ।

उनले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरे । सभामुखको आसनमा रहेकी उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाउनु भएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताइन् ।

नेकपा (माओवादी केन्द्र)लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताइन् । तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाएनन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *