काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले ड्युटीमा खटिएका एकजना प्रहरीका सईलाई ‘सई होइन, असई हो’ भनेकै भरमा प्रहरीले माघ २ गते पक्राउ गरी अभद्र व्यवहारको मुद्दा दर्ता गर्यो । गौशालाका प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङलाई ११ दिनको हिरासत बसाइपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गर्यो । काठमाडौंबाट रिहा भएपछि आशिका फेरि पक्राउ परिन् । उनीविरूद्ध भक्तपुर प्रहरी परिसरमा आपराधिक उपद्रवको कसुरमा मुद्दा रहेको भन्दै प्रहरीले रिहा भएलगत्तै पक्राउ गरेको हो । उनले केही समयअघि साँगाको झोलुंगे पुलमा अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भन्दै सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो । दुई महिना भन्दाअघिको त्यो घटनालाई लिएर प्रहरीले पुनः पक्राउ गरी आशिकालाई भक्तपुर प्रहरीको जिम्मा लगाइयो । भक्तपुरबाट पनि आशिका २० हजार धरौटीमा रिहा भइसकेकी छन् । आशिकालाई पक्राउ गर्दा प्रहरीले ठूलै अपराधी पक्राउ गरी सफलता प्राप्त गरेजस्तो गरी प्रचार गर्यो । प्रहरीले हत्कडी लगाएर घुमायो र त्यो तस्बिर सार्वजनिक पनि गर्यो । कयौं ठूला अपराधीलाई हत्कडी लगाउनुको साटो उल्टै भाषण गर्न दिने प्रहरी आशिकाका मामलामा भने निर्मम देखिएको थियो । जसका कारण प्रहरी आफैं आलोचित पनि बन्यो । आशिकाको शैली सुधार गर्नुपर्ने थियो, तर उनले उठाएका मुद्दा भने सही थिए । उनले प्रहरीमाथि हातपात, कुटपिट भने गरेकी थिइनन् ।
अहिले ठमेलमा ड्यूटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । गत बिहीबार ठमेलमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी सदस्य कमलराज जोशीको समूहले ड्यूटीमा रहेको प्रहरीमाथि कुटपिट गरेको थियो । घटनामा संलग्न भएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका छन् । अमृत साइन्स क्याम्पसमा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् । तर घटनाका मुख्य आरोपी जोशीलाई भने प्रहरी आफैंले उन्मुक्ति दिएको छ । अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन । केही बोलेकै आधारमा आशिकालाई अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरी अहिले आफ्नै सदस्यलाई रामधुलाई गर्ने मुख्य व्यक्तिलाई किन उन्मुक्ति दिँदैछ भने सर्वत्र प्रश्न उठेको छ । प्रहरीले जोशीलाई उन्मुक्ति दिएकोबारेमा जेजे स्पष्टीकरण दिएपनि सत्तारुढ दलको भातृ संगठनको सदस्य भएकै कारण उन्मुक्ति दिएको प्रष्टै हुन्छ । तर उनीहरुको कुटपिटबाट घाइते भएका प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट अस्पतालमा उपचाररत छन् । आफूहरुलाई मरणासन्न हुनेगरी कुटपिट गर्नेलाई उन्मुक्ति दिँदा प्रहरी संगठनका जगुलाल र नगेन्द्रहरु के सोच्दै होलान् ?
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन्, ‘कुट्यो अनि छुट्योः आशिका तामाङले त प्रहरीलाई कुटेको थिएन होला ।’
आशिका पनि अहिले प्रश्न गर्दैछिन्, ‘प्रहरी कुट्नेहरु त छुटे रे त ! मैले त ११ दिन हिरासत बसेपछि कृपया छोराछोरीको खातिर भएपनि मलाई छोडिदिनुस् भनेर रोइकराइ गर्दा नि छोडेन किन होला त ?’