जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान नै खारेज गर्न लागि परेको आरोप लगाएका छन् ।
सोमबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान नै खारेज गर्न उद्दत रहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘हामीले अनेकौपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’
अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।
उनले आफूले मधेसी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै रहेको बताए । ‘मैले मधेसी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।
प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।
प्रचण्ड महोत्तरीको बर्दिबास नगरपालिका– ३ मा रहेको आधारशिला (कम्युन)को २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न पुगेका छन् ।
आधारशिला माओवादी नेता–कार्यकर्ताको सामूहिक वसोवाससहितको संस्था हो । माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल नेतृत्वको यो संस्थामा एक दर्जन भन्दा धेरै परिवारको सामूहिक बसोबास छ ।
वार्षिकोत्सवको अवसरमा हुन लागेको वैचारिक तथा सांस्कृतिक समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको आधारशिलाले जनाएको छ ।
आजै जनकपुरमा हुने माओवादीको मधेस प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकलाई पनि प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।