मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज कुर्स्क क्षेत्रको अग्रमोर्चामा

बीबीसी । मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज रुसको पश्चिमी कुस्र्क क्षेत्रको अग्रमोर्चाबाट फर्किएको युक्रेनी राष्ट्रपतिले जनाएका छन् ।

गत महिना ठूलो सङ्ख्यामा हताहत भएसँगै उनीहरू त्यहाँबाट फिर्ता गएका विवरण आएका थिए । शुक्रबार एक भिडियो सम्बोधनमा भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले ‘उत्तर कोरियाली सैनिकहरू फिर्ता ल्याएको’ र उनीहरूले खासगरी अधीनस्थ युक्रेनी भूभागमा ‘नयाँ हमला’ गरिरहेको जनाएका छन् ।

उनले सयौँ रुसी र उत्तर कोरियाली’ सैनिकहरू मारिएको बताए । जनवरीमा पश्चिमा अधिकारीहरूले बीबीसीलाई उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएको जनाएका थिए ।

त्यसबारे उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन् । शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो साता राष्ट्रपति जेलेन्स्कीसँग भेट र राष्ट्रपति पुटिनसँग संवादको सम्भावना रहेको जनाएका छन् ‘म युद्ध अन्त्य भएको देख्न चाहन्छु,’ ट्रम्पले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको हमला सुरु गरेका थिए। उक्त लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्याएको छ ।

गत साता कुस्र्कमा लडिरहेको युक्रेनी विशेष फौजले आफूहरूले पछिल्लो २१ दिनमा त्यहाँ कुनै उत्तर कोरियाली फौज नदेखेको जनाएको थियो । उनीहरूका एकजना प्रवक्ताले त्यहाँ ठूलो क्षति बेहोरेपछि उनीहरू फर्किएको हुनसक्ने बताएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ–अनबीच पछिल्ला समयमा द्विपक्षीय सम्बन्ध गहिरिएको छ। दुई देशबीच सुरक्षा तथा रक्षा सन्धिमा समेत हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *