गलकोट (बागलुङ) । नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रूपमा लिएको बताएका छन् ।
उनले माओवादी रूपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको उनले बताए ।
प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहेका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताए ।
संविधान संशोधनको कदमलाई पुनः विचार गर्दै प्रतिगमन हुने ढङ्गले संशोधन गर्न नहुने उनले बताए। शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउँदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।