नेपाल–भारत सम्बन्धको लाभ ‘आईटी’ क्षेत्रमार्फत लिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आईटी क्षेत्रमार्फत लिनुपर्ने बताएका छन् ।

भारतीय दूतावासले शुक्रकार आयोजना गरेको ‘सेकेण्ड इण्डिया–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले अहिले सूचना प्रविधिको युग भएकाले दुई देशबीचको सम्बन्ध जोड्ने आधार सूचना प्रविधि रहेको बताए ।

उनका अनुसार नेपाल र भारतबीचको सांस्कृतिक, भावनात्मक र खुला सिमानाको अन्तर सम्बन्धलाई अब नवीन कार्यमा रुपान्तरण आवश्यक छ । आईटी क्षेत्रमार्फत दुई देशबीचका युवाबीच ‘इनोभेटिभ’ कार्यमा सहकार्यको आवश्यकता उनले औँल्याए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपालले आईटी क्षेत्रमा पूर्वाधार निर्माण, बजार विस्तार र ‘डिजिटल फ्रेमवर्क’मा कार्य सम्पादन गर्दै आएको उल्लेख गरे । उनले नेपालको आफ्नै स्याटेलाइट निर्माण गर्ने, ‘डिजिटल लिटरेसी’ विस्तार गर्ने, एआई नीति ल्याउने सरकारको योजना रहेको जानकारी दिए ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाली र भारतीय नवप्रवर्तनबीच सहकार्य गरेर उद्यमशीलतामा प्रोत्साहन गरिने बताए । भारतीय सरकारले नवप्रवर्तनमा युवा विशेष लगानी गर्दै आएको र नेपालले पनि प्रयास गरेको देखिएकाले दुवै देशबीचको सहकार्यमा थप उपलब्धिपूर्ण बनाउन सकिने धारणा उनले राखे ।

राजदूत श्रीवास्तवले भारतमा आगामी अप्रिल ३ देखि ५ तारिखमा हुन लागेको नवप्रवर्तन महाकुम्भमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *