काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि इरानका विदेश मन्त्री सैयद अब्बास अरघचीसँग टेलिफोन कुराकानी गरेकी छन् ।
बिहीबार अबेर राति परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन इरानका विदेश मन्त्री सैयदसँग टेलिफोनमा कुराकानी गरेको बताएकी छन् ।
त्यसक्रममा इरानका विदेश मन्त्री सैयदले हमासको आगामी बैठकमा विपिनको रिहाइका विषयमा छलफल गर्ने प्रतिवद्धता जनाएको मन्त्री राणाले जनाएकी छन् । मन्त्री राणाले सकारात्मक पहल र प्रतिवद्धताका लागि इरानका विदेश मन्त्रीलाई धन्यवाद दिएकी छन् ।
विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा भइसकेका छन् भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो ।
बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ । इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाइका लागि पहल भइरहेको बताइएको छ ।