काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन अर्थात् माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए । सम्बोधनका लागि रोष्ट्रममा जाने क्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा कागज थमाएका थिए । ओलीले प्रचण्डलाई के कागज थमाए त ? भन्दै त्यतिबेला धेरैलाई कौतुहलता लागेको थियो । पछि थाहा भयो कि प्रधानमन्त्रीले लिखित सम्बोधन गर्ने भएकाले त्यसैको एक प्रति प्रचण्डलाई दिएका रहेछन् । त्यही दिन प्रचण्डले पनि सम्बोधन गर्ने कुरा थियो, तर त्यसदिन प्रचण्डले सम्बोधन गरेनन् ।
प्रचण्डले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे । प्रचण्डले बिहीबार सम्बोधन गर्ने भनेर बुधबारदेखि नै समाचार छ्याप्छ्याप्ती भएको थियो । जब बिहीबार संसद बैठकलाई सम्बोधन गर्न प्रचण्ड रोष्ट्रममा पुगे, त्यतिबेला संसद बैठकमा न त प्रधानमन्त्री ओली थिए, न त संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै । तर प्रचण्ड बोल्न सुरु गर्दैगर्दा देउवा भने बैठकमा आइपुगे । देउवालाई देखेपछि प्रचण्डले धन्यवाद दिए । तर प्रधानमन्त्री भने बैठकमा अनुपस्थित रहे । सामान्यतया विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने संसदमा प्रचण्डले सम्बोधन गर्दा सरकारी निवास बालुवाटारमै बसे । प्रचण्डले संसदमा प्रधानमन्त्री ओली उपस्थित नभएकोमा दुःखेसो गरे । उनले भने, ‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्दा प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ। प्रधानमन्त्री आउनुहुन्छ भन्ने मलाइ लागेको थियो। तर, आउनु भएन । तर पनि मैले संसदमा बोलेको कुरा सुन्नुुहुन्नछ भन्ने मलाई विश्वास लागेको छ।’
प्रधानमन्त्रीले प्रचण्डको सम्बोधन सुने सुनेनन् उनै जानुन । तर प्रधानमन्त्रीको ओलीको सम्बोधन भने आफूले पटक पटक सुनेको र पढेको प्रचण्डले बताए । बिहीबारको संसद बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची थियो । त्यसका लागि ओली र देउवाले अध्यादेशको समर्थन गर्न भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरेका थिए । यादवसँग वार्ता गरेपनि जसपा अनिर्णित हुँदा अध्यादेश फेल हुने भएपछि सरकारले अध्यादेश पेस गर्ने कार्यसूची हटाउन सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आग्रह गर्यो ।
यादवसँगको वार्तामा देउवा र ओलीसँग थिए । त्यसपछि देउवा भने बैठकमा सहभागी हुन आएका थिए । बिहीबार प्रधानमन्त्रीको औपचारिक कार्यक्रम पनि कतै थिएन । किनकी औपचारिक कार्यक्रम भएको भए सायद समाचार आउने थिए । औपचारिक कार्यक्रमको कुनै समाचार आएको थिएन । प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री अनुपस्थित भएको भनेर सामाजिक संजालमा आलोचना भएपछि एमालेका नेताहरुले प्रचण्ड बोल्ने कुरा प्रधानमन्त्रीलाई थाहा नभएको बताएका थिए । जबकी प्रचण्डले बिहीबार संसदमा सम्बोधन गर्ने भनेर बुधबारदेखि समाचारहरु आइरहेका थिए ।
खासमा प्रधानमन्त्री बिहीबार के मा व्यस्त थिए भन्ने कुरा साँझ मात्र थाहा भयो, जुनकुरा प्रधानमन्त्री ओलीले फेसबुकमार्फत सार्वजनिक गरे । प्रधानमन्त्री त टिकटकरहरुसँग पो कुराकानीमा व्यस्त रहेछन् । प्रधानमन्त्री ओलीले बिहीबार राति लेखे, ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवी र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले TikTok लाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’