गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएको बताएका छन् ।

“मैले आइडिएफ (सेना) लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान गर्न सक्षम बनाउने योजना तयार गर्न निर्देशन दिएको छु”, उनले एक विज्ञप्तिमा भने ।

उनले सेनालाई ‘कुनै पनि गाजाका बासिन्दालाई स्वीकार गर्न इच्छुक कुनै पनि देशमा जान चाहने जो कोहीलाई पनि त्यसो गर्न दिने’ तयारी गर्न भनेको स्पष्ट पारे ।

“यस योजनामा भूमि नाकाहरू मार्फत बाहिरिने विकल्पहरूका साथै समुद्र र हवाई मार्गबाट प्रस्थानका लागि विशेष व्यवस्थाहरू समावेश हुनेछन्”, काट्जले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा पट्टी कब्जा गर्ने’ योजना जारी गरेपछि यो टिप्पणी आएको हो । ट्रम्पको उक्त टिप्पणीले विश्व नेताहरूको आलोचना र उनको प्रशासनद्वारा ती टिप्पणीहरूलाई फिर्ता लिने प्रयासहरू निम्त्याएको थियो ।

काट्जले ‘गाजाको ठूलो जनसङ्ख्यालाई विश्वभरका विभिन्न स्थानहरूमा पुनस्र्थापित गर्न सक्ने ट्रम्पको साहसी योजनालाई’ स्वागत गरेको बताए ।

यो योजनाले छोड्न चाहने गाजावासीहरूलाई ‘आश्रयदाता देशहरूमा उत्कृष्ट रूपमा एकीकृत हुन र साथै निःशस्त्रीकृत, खतरामुक्त गाजाको पुनर्निर्माण कार्यक्रमहरूको प्रगतिलाई सहज बनाउन’ मद्दत गर्नसक्ने उनले बताए ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले काट्जको कदमको प्रशंसा गरेका छन् ।

“आप्रवासन योजनामा हाम्रो भूमिकाको कार्यान्वयनका लागि तयारी गर्न र गाजालाई प्राप्त गर्ने देशहरूमा प्रस्थान गर्न सजिलो बनाउन (इजरायली सेना) लाई निर्देशन दिने रक्षामन्त्रीको निर्णयलाई म स्वागत गर्दछु”, स्मोट्रिचले विज्ञप्तिमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *