मेला महोत्सवमार्फत लोक संस्कृतिको संरक्षण

पाल्पा । कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको हो ।

व्यक्तिभित्र लुकेर रहेका कला, संस्कृतिलाई उजार गर्न रामपुर मेलाले एउटा अवसर सिर्जना गरेको स्थानीय बताउँछन् । यही माघ १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने ‘चौँथो रामपुर महोत्सव तथा व्यापार मेला’मा लोकदोहोरी प्रतियोगितामार्फत लुकेर रहेका प्रतिभालाई अवसर प्रदान गरिएको हो ।

लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । दोहोरीको अन्तिम प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेलले उपाधि जित्दै नगद  ५१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ ।

नमस्ते होटलको तर्फबाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतियोगितामा सहभागी भई प्रतिस्पर्धामार्फत उपाधि हात पारेको दोहोरी गीत प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिए ।

उपविजेता समूह बनेको राष्ट्रिय लोक तथा गीत प्रतिष्ठानले नगद ३१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ । यस समूहमा सुमन थापा र सीमा सारुले प्रतिनिधित्व गरेका थिए ।

पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अङ्क प्राप्त गर्दै तृतीय स्थान ओगट्दै प्रतिसमूह नगद २१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन् । पृथ्वी टेलिभिजनको तर्फबाट तोयानाथ विक र विपना खनाल तथा श्रीनगर होटलबाट विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गर्नुभएको थियो । प्रतियोगितामा आठ समूहको सहभागिता थियो ।

राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान स्याङ्जाका सुदीप सापकोटा उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेल उत्कृष्ट गायिका घोषित भएका छन् । लोकदोहोरीका नयाँ प्रतिभाहरूको खोजी, प्रतिभा प्रस्फुटन र मौलिकताको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवद्र्धन गर्न प्रतियोगितात्मक कार्याक्रम आयोजना गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *