काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बन्द गर्ने भएका छन् । ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलोन मस्कले ‘यूएसएआईडी’ बन्द गर्न लागेको जानकारी दिएका हुन् । यसमा राष्ट्रपति ट्रम्प पनि सहमत भइसकेको उनले बताएका छन् । मस्ककले भनेका छन्,‘यस (यूएसएआईडी) लाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत हुनुहुन्छ । यो सुधार्नै नसक्ने अवस्थामा छ। हामी यसलाई बन्द गर्दै छौँ।’ मस्कको घोषणासँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको छ। वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ । त्यस्तै, यूएसएआईडीको वेबसाइट पनि हटाइएको छ ।
युएसएआईडी बन्द हुँदा अमेरिकीलाई मात्र नभई त्यसका सहयोगी मुलुकलाई पनि असर पर्ने भएको छ । यसबाट नेपालका धेरै कार्यक्रममा असर देखिने भएको छ । युएसएआइडीले तत्काल ९० दिनका लागि यी कार्यक्रमहरू स्थगित गरेको पत्र नेपाल सरकारलाई पठाइसकेको छ । यो सँगै युएसएआइडी अन्तर्गतका सबै कार्यक्रमहरू अहिले बन्द भएका छन् । ७० वर्षदेखि नेपालमा युएसएआइडीले विभिन्न परियोजना संचालन गर्दै आएको छ । युएसएआइडीका सन् २०२३ देखि २०२९ सम्मका लागि कुल ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रूपैयाँ) बराबरका कार्यक्रम सञ्चालनमा छन् । यसमध्ये ४० करोड डलर (५५ अर्ब रूपैयाँभन्दा बढी) बराबरको कार्यक्रम स्वीकृत भएको छ ।
तर यी कार्यक्रम अन्यौलमा परेका छन् । अब यसबाट हामीले के पाठ सिक्ने भन्ने कुरा पनि सोच्ने बेला भएको छ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अमेरिकी योजनाबाट अनुदान सहयोगमा दातृराष्ट्र र निकायहरुको रूची सेलाउँदै गएको स्पष्ट भएको बताउँछन् । पाण्डेको टिप्पणी छ, ‘हावा जस्तै व्यापक भ्रष्टाचार र बेकम्मा शासकीय अवस्थाले दातृराष्ट्र र निकायहरुको रूची सेलाउँदै गएको छ । यस्तो चिन्तापूर्ण घडीमा वैदेशिक सहायताको स्रोत सुक्ने लक्षण पनि देखिन थालेको छ । यसैबीच ट्रम्प नेतृत्वमा अन्तरमुखी हुनथालेको अमेरिकी नीतिले प्रजातान्त्रिक विश्वमा सामरिक र सैद्धान्तिक फाटो ल्याउने लक्षण देखिन थालेको छ । साथै अनुदान र ऋणमा अप्रत्यक्ष शर्त र दबाब दिदै आएका अन्य देशहरुले पनि लाद्न थाल्ने प्रत्यक्ष शर्त र दबाबलाई अस्थिर राजनीति र कूटनीतिक सीपमा खिया लागेको नेपालले कसरी सम्भाल्न सक्छ ? तीनवर्ष पछि हुने चुनाव जित्ने योजना बनाउन एकलव्य प्रमुख नेताहरुले सामुन्ने आएको जोखिमबाट नेपाललाई जोगाउने ल्याकत र इच्छाशक्ति देखाऊनु पर्छ । सामरिक भूस्थापन भएको सानो देशलाई चौतर्फी जोखिमले घेर्न थालेको छ ।’
पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य युएसएआइडी बन्द हुनुले देशको सरकार तथा समाजको पनि आँखा खोल्न सघाउने बताउँछन् । आचार्यको टिप्पणी छ, ‘वैदेशिक सहयोगबाट गरिब मुलुकहरूमा केही राम्रा कामहरू पक्कै भएका छन् । तर पछिल्लो चरणमा विशेष गरी पश्चिमी दाताबाट प्रवाहित वैदेशिक सहयोग विकासशील वा अन्य देशहरूमा आफ्नो रणनीतिक उद्देश्य हासिल गर्नका लागि ती देशहरूको ‘व्यवस्था/सरकार परिवर्तन’ तथा धार्मिक/सांस्कृतिक अतिक्रमणका लागि ‘सफ्ट–पावर’ का आफ्ना स्थानीय एजेन्टलाई पोस्ने काममा खर्च भएको देखिन्छ । वैदेशिक सहयोगले कुनै न कुनै रूपमा निरन्तरता पाउला नै, तर पहिले जस्तो व्यवस्था तथा समाज भाँड्ने स्वच्छन्दता नहोला । ट्रम्प प्रशासनको यो निर्णय र त्यसबाट रहस्योद्घाटित तथ्य/सूचनाले प्राप्तकर्ता देशको सरकार तथा समाजको पनि आँखा खोल्न सघाउने निश्चित छ।’