काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मंगलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरेका गरिन् । त्यस अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको क्यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण गरिन् ।
साथै गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल-अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचार विमर्श भएको थियो । पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओहोदाको प्रमाणपत्र प्रदान समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको पनि उपस्थिति थियो ।