धरान । साविक विजेता एनआरटी २५ औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
अन्तिम क्वार्टरफाइनल खेलमा काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एनआरटीले आक्रामक खेल प्रदर्शन गर्यो ।
खेलको ४८ औँ मिनेटमा आशिष गुरुङको पासमा शिशिर लेखीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १२ मिनेटपछि सरोज घिसिङले टिमको दोस्रो गोल थपेका थिए । काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका लागि ६५ औँ मिनेटमा खमिर ग्लिसन लिम्बूको पासमा रोबर्ट खोङ्जङले एक गोल फर्काएका थिए ।
तर, खेलको ७९ औँ मिनेटमा एनआरटीका सुमित श्रेष्ठको पासमा रोहन खड्गीले गोल गर्दै टिमको जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेबापत एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए । उनले ट्रफीसहित नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।